मुण्डा समाजद्वारा सञ्चारग्रामको अवलोकन
मोरङ। मुण्डा समाजका प्रतिनिधिहरूले सोमबार विराटनगरस्थित रेडियो नेपाल तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको अवलोकन गर्नुभएकाे छ।

समाजको संस्कृति, परम्परा, भाषा तथा समुदायसँग सम्बन्धित विषयमा सञ्चारमाध्यमको भूमिकाबारे स्पष्ट हुन उक्त अवलोकन गरिएको हो।

अवलोकनका क्रममा प्रतिनिधिहरूले रेडियो सङ्ग्रहालय, सञ्चारग्रामबाट भइरहेका सञ्चार गतिविधि, समाचार उत्पादन तथा प्रसारण प्रक्रियाबारे विस्तृत जानकारी लिनुभएको थियो। सो अवसरमा उहाँहरूले समुदायको मौलिक भाषा, संस्कृति, कला र परम्परालाई सञ्चारमाध्यममार्फत संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

सञ्चारग्राम विराटनगरका कार्यालय प्रमुख बलराम चौधरीले स्थानीय समुदायका आवाज, समस्या र उपलब्धिलाई सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस अवलोकन कार्यक्रमले मुण्डा समाज र सञ्चारग्रामबिचको सम्बन्ध तथा सहकार्यलाई थप कसिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्