तपाईँ सुन्दै हुनुहुन्छः

गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ८ करादीमा बलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा जीप चालक सहित १४ जना घाइते भएका छन् ।

साँझ करिब ५ः४५ बजे गल्याङ बजारबाट गल्याङ ९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बलेरो जीप करादीस्थित भित्री सडकको उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरी उपचारका लागि गल्याङ नगर अस्पताल, पाल्पा गरि विभिन्न अस्पतालमा पठाएका छन् । घाइतेहरूको अवस्था तथा पहिचानबारे प्रहरीले अस्पतालहरूमा पुगेर विवरण सङ्कलन गरिरहेको जनाएको छ । घटनाको थप अनुसन्धान तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रताप पौडेलको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा मृत्यु हुने तथा घाइतेहरूको पूर्ण विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button