कोशी प्रदेशका पत्रकारको दुर्घटना बीमाको शुभारम्भ
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका १ हजार २२७ जना पत्रकारको एक वर्षको दुर्घटना बिमा खर्च बेहोर्ने भएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहलमा प्रदेश सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय बिमा कम्पनी लिमिटेडमार्फत पत्रकारको दुर्घटना बिमा कार्यक्रम सुरु गरिएको हो ।

विराटनगरमा आज आयोजित बिमा कार्यक्रमको शुभारम्भ गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारिता जोखिमपूर्ण पेसा भएकाले पत्रकारको सुरक्षा र सामाजिक संरक्षणमा बिमाको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो । बिमा कम्पनीले दुर्घटनामा परेका बिमितलाई भुक्तानी गर्ने प्रक्रिया सहज, सरल र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहस र जोखिमसँग जोडिएको पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमले पत्रकारलाई राहत दिने बताउनुभयो । प्रदेश सरकारले कोशी प्रदेशका १४ वटै जिल्लाका लागि पत्रकारको एक वर्षको दुर्घटना बिमाका लागि लाग्ने खर्च बेहोरेको जानकारी दिँदै उहाँले आवश्यकता र प्रभावका आधारमा कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रष्ट पार्नुभयो ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशमा आबद्ध पत्रकारको एक वर्षको दुर्घटना बिमा गरेको हो । यसबाट पत्रकारले पेसागत जिम्मेवारी निर्वाहका क्रममा हुने दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हेमा चेम्जोङ, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठक, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका रजिष्ट्रार लीलाराज भट्टराई, राष्ट्रिय बिमा कम्पनीका व्यवस्थापक निरञ्जन आचार्य र सो कार्यालयका कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारको सुरक्षा तथा बिमा कार्यक्रमका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय बीमा कम्पनी लिमिटेड कोशी प्रदेशका मुख्य व्यवस्थापक निरञ्जन आचार्यले बीमाको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्