तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा स्क्रब टाएफस सङ्क्रमणबाट तीन जनाको मृत्यु 

सल्यान। सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका ५ का एक र वडा न-६ का दुई गरी तीन पुरुषको मृत्यु भएको हो । 

लामो समयदेखि दीर्घरोगबाट प्रभावित उनीहरूमा स्क्रब टाइफसको परीक्षण गर्दा संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगन्जमा मृत्यु भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार यस वर्ष पालिकामा मात्रै करिब ३० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । ज्वरोका बिरामी बढेपछि परीक्षण गर्दा संक्रमण देखिएको उहाँले बताउनुभयो । 

संक्रमण बढिरहेका बेला दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण हुनुपर्ने भए पनि किट अभावका कारण बिरामी निजी क्लिनिकमा जान बाध्य भएका छन् । किट अभावका कारण दार्माका नागरिक स्क्रब टाइफस परीक्षणका लागि रुकुमको झुल्नेटा, फारुला र बागचौरसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार साउन महिनामा मात्रै जिल्लामा ४१ जनाको स्क्रब टाइफस परीक्षण गर्दा  तीन पुरुष र दुई महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रतीक भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button