महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
इलाम । महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका घटनाविरुद्ध इलाममा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको संयुक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय इलाममार्फत बुझाइएको छ।

आज इलामको टुँडिखेलबाट सुरु भएको विरोध र्याली इलाम चोक बजार हुँदै जिल्ला प्रशासन कार्यालय इलाम पुगेको थियो। कार्यक्रममा करिब ४ सय जनाको सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व जिल्ला प्याब्सन इलामकी अध्यक्ष नुनुमा राईले गर्नुभएको थियो।
संयुक्त ज्ञापनपत्रमा पितृसत्तात्मक सामाजिक संरचना र सोचका कारण महिलालाई हेर्ने दृष्टिकोणमा अझै पूर्ण परिवर्तन आउन नसकेको उल्लेख गर्दै पछिल्लो समय महिला तथा बालिकामाथि हुने बलात्कार, अपहरण, यौन हिंसा तथा हत्या जस्ता घटनाहरू बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विशेष गरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा दशैंका बेला ३ वर्षीय बालिका गरिमा चौधरीको क्रूर हत्या भएको घटनालाई गम्भीर रूपमा उठाउँदै उक्त घटनाका दोषीमाथि निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ।
कार्यक्रमको नेतृत्व गर्दै जिल्ला प्याब्सन इलामकी अध्यक्ष नुनुमा राईले महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताउनुभयो।
ज्ञापन पत्रमार्फत पीडित तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा तथा रोकथामका कार्यक्रम सञ्चालन गर्न, घटनाको शीघ्र अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई राहत र सुरक्षा प्रदान गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा बलात्कार तथा जघन्य अपराधका दोषीलाई कडा कारबाही गर्न आवश्यक कानुनी व्यवस्था तथा प्रचलित कानुनमा आवश्यक संशोधन गर्नुपर्ने मागसमेत गरिएको छ।
कार्यक्रममा सहभागीहरूले महिला र बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए।







प्रतिक्रिया राख्नुहोस्