दूधकुण्डमा रेडक्रसको निःशुल्क प्राथमिक उपचार शिविर हुने
सोलुखुम्बु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले जनैपूर्णिमाको अवसरमा सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा लाग्ने मेलामा निःशुल्क प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा सहभागी हुने भक्तजन तथा यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी रेडक्रसले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा टाक्सिन्दु शेर्वी छोक्पा न्युयोर्कको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले शिविर सञ्चालन गर्ने भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोषाध्यक्ष सुरेश खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार शिविरमा १५ जना स्वास्थ्यकर्मीसहित टाक्सिन्दु रेडक्रस उपशाखाका स्वयंसेवकको टोली परिचालन हुनेछन् । टोलीले पैदल मार्गमा आवश्यक प्राथमिक उपचार सेवा तथा स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ ।
भदौ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने शिविर तथा उपचार सेवा टाक्सिन्दु, कामुडाँडा, सहस्र बेनी हुँदै दूधकुण्डसम्मका विभिन्न स्थानमा उपलब्ध गराइनेछ । दूधकुण्ड मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन तथा तीर्थयात्री पुग्ने भएकाले सम्भावित स्वास्थ्य समस्या र आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गर्न लागिएको रेडक्रसले जनाएको छ ।
मेलामा सहभागी हुने यात्रु तथा भक्तजनलाई बाटोमै आवश्यक प्राथमिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो । रेडक्रसले मेलामा सहभागी हुने सबैलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा कुनै स्वास्थ्य समस्या देखिएमा नजिकैको प्राथमिक उपचार टोलीसँग सम्पर्क गर्न आग्रह गरेको छ । यात्राका क्रममा उचाइका कारण लेक लाग्ने, बेहोस हुने तथा टाउको दुख्ने जस्ता समस्या आउने गर्दछ ।







प्रतिक्रिया राख्नुहोस्