युट्युब हेर्दै पर्वतमा स्याउ फलाउने लालबहादुर: २८ वर्षको जागिरपछि गाउँमै सफलताको कथा

पर्वत। भारतीय सेनामा २८ वर्ष सेवा गरेर स्वदेश फर्किँदा मोदी गाउँपालिका–४, क्याङका लालबहादुर शेरपुर्जा पुन केही अन्योलमा हुनुहुन्थ्यो। लामो समयको जागिरे जीवनपछि गाउँमै बसेर के गर्ने भन्ने प्रश्न उहाँको अगाडि थियो। यही अन्योलबीच उहाँले कृषि पेसा रोज्नुभयो र पछिल्ला छ वर्षदेखि आफ्नै माटोमा पसिना बगाइरहनुभएको छ।

यसैक्रममा उहाँले जिल्लामै नयाँ प्रयोगका रूपमा स्याउ खेती सुरु गर्नुभयो। सुरुमा थोरै बिरुवाबाट परीक्षणका रूपमा थालिएको उहाँको प्रयास अहिले सयभन्दा बढी बिरुवामा फैलिएको छ। समुन्द्री सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको क्याङमा उहाँले किङरोड, फुजी, गाला र गोल्डेन गरी चार जातका स्याउ सफलतापूर्वक फलाउनुभएको छ। यसले पर्वतका उच्च पहाडी क्षेत्रमा पनि स्याउ खेतीको राम्रो सम्भावना रहेको गतिलो उदाहरण पेस गरेको छ।
युट्युबबाट सिकेर सुरु भएको यात्रा
स्याउ खेती सुरु गर्दा लालबहादुरसँग यससम्बन्धी खासै ज्ञान थिएन। न त कुनै विशेष तालिम लिनुभएको थियो, न सुरुवाती चरणमा प्राविधिकको प्रत्यक्ष सहयोग नै प्राप्त थियो। तर नयाँ कुरा सिक्ने इच्छाशक्तिले उहाँलाई अघि बढ्न प्रेरित गर्यो।
उहाँले युट्युबमा स्याउ खेतीसम्बन्धी सामग्री हेर्दै बिरुवा रोप्ने, गोडमेल गर्ने, काटछाँट गर्ने तथा हेरचाह गर्ने तरिका सिक्नुभयो। सुरुआती दिनमा अनुभवको कमीले धेरै बिरुवा मरे पनि केही बिरुवाले राम्रोसँग हुर्किएर फल दिए। तिनै बिरुवाले दिएको परिणामले उहाँलाई थप उत्साहित बनायो। अनुभव बटुल्दै खेती विस्तार गर्नुभएका लालबहादुरका बगैँचामा अहिले चारै जातका स्याउ ढकमक्क फलेका छन्।

परीक्षणदेखि व्यावसायिक बगैँचासम्म
लालबहादुरले सुरुमै ठूलो लगानी गरेर जोखिम लिनुभएन। पहिले थोरै बिरुवा लगाएर यहाँको हावापानी र जमिन परीक्षण गर्नुभयो। बाँकी रहेका बिरुवाले राम्रो र स्वादिलो फल दिएपछि उहाँले खेती विस्तारको निर्णय गर्नुभएको हो।
स्याउ खेती सुरु गर्नुअघि उहाँले कृषि विकास कार्यालय तथा स्थानीय तहको कृषि शाखामा जानकारी लिनुभएको थियो। तर क्याङको उचाइ र हावापानीमा स्याउ खेतीको स्पष्ट अनुभव नभएकाले सुरुमा व्यावसायिक खेतीको खासै अभ्यास थिएन। फले पनि स्वाद कस्तो होला भन्ने अन्योल थियो। तर आफ्नै बगैँचाको गुलियो स्याउ चाखाएपछि अहिले स्थानीयमा पनि यसप्रति चासो बढेको छ। “आफैँले परीक्षण गरेर अगाडि बढ्दा यहाँ पनि राम्रो स्याउ फलाउन सकिने रहेछ भन्ने विश्वास जागेको छ,” लालबहादुर भन्नुहुन्छ।
प्राविधिक सहयोग र स्थानीय नर्सरी
आफ्नै प्रयासमा सफलता हासिल गर्नुभएका लालबहादुर अब भने राज्यस्तरबाट प्राविधिक सहयोगको अपेक्षामा हुनुहुन्छ। बिरुवाको वैज्ञानिक काटछाँट, रोग-किरा नियन्त्रण र मलखाद व्यवस्थापनमा कृषि प्राविधिकको साथ पाए खेतीलाई अझ व्यवस्थित बनाउन सकिने उहाँ बताउनुहुन्छ।
स्याउ खेतीसँगै उहाँले बिरुवाको नर्सरी पनि तयार गर्नुभएको छ। बाहिरबाट एउटा बिरुवा मगाउँदा करिब १ हजार १५० रुपैयाँ पर्नेमा उहाँले आफ्नै नर्सरीमा उत्पादन गरी स्थानीय कृषकलाई ४५० रुपैयाँमै उपलब्ध गराउँदै आउनुभएको छ। उहाँको बगैँचामा स्याउसँगै चेरी र आरु पनि छन्। अहिले पर्वतका तारे, सालिजा, बनौँलगायतका स्थानबाट समेत बिरुवाको माग आउन थालेको छ।
स्थानीयमा उत्साह र नयाँ सम्भावना
मोदी गाउँपालिकाकी कृषि प्राविधिक सुस्मा सापकोटाका अनुसार लालबहादुरको सफलतापछि स्थानीय कृषकहरू स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाका क्याङ र चित्रेको माथिल्लो बेल्टमा स्याउ खेतीको सम्भावना उच्च रहेको र इच्छुक कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराइने सापकोटाले बताउनुभयो।
पर्वतको क्याङ, चित्रे, लेस्पार, तारे, बनौँ र सालिजाजस्ता माथिल्ला भूभागहरू भविष्यमा फलफूल खेतीका लागि थप सम्भावनायुक्त क्षेत्र बन्न सक्ने देखिएको छ। लालबहादुरको यो प्रयासले जागिरपछिको जीवनलाई उत्पादनसँग जोड्न चाहनेहरूका लागि ठूलो प्रेरणा दिएको छ।








प्रतिक्रिया राख्नुहोस्