मयाङ खोलामा पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा
रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ का स्थानीयलाई वर्षायाममा मयाङ खोला पार गर्नु जोखिमपूर्ण बन्दै गएको छ । शहिद मार्गअन्तर्गत पर्ने मयाङ खोलामा स्थायी पुल नहुँदा स्थानीयले काठका अस्थायी साँघु बनाएर खोला वारपार गर्दै आएका छन् ।

खोलामा बाढी आएर साँघु बगाउने र स्थानीयले पुनः निर्माण गर्ने क्रम वर्षेनी दोहोरिने गरेको छ । सडकमा सवारीसाधनको पहुँच बढ्दै गए पनि पुलको अभावमा वर्षायाममा यात्रा भने जोखिमपूर्ण हुने गरेको स्थानीयको गुनासो छ ।
पुथा उत्तरगंगा गाउँपालिका–६ का वडाध्यक्ष संखे सेनका अनुसार स्याङ खोलाबाट आएको बाढीले मयाङ खोलाको बहाव बढाउने गरेको छ । साउन महिनामा मात्रै बाढीले सात पटक काठका अस्थायी साँघु बगाएको उहाँले बताउनुभयो ।
गाउँका युवाहरू मिलेर साँघु निर्माण गर्ने गरे पनि बाढी आएपछि पुनः बगाउने भएकाले समस्या दोहोरिने गरेको वडाध्यक्ष सेनको भनाइ छ । उहाँका अनुसार वर्षायाममा विद्यार्थी, बिरामी तथा दैनिक कामका लागि आवतजावत गर्ने नागरिक बढी प्रभावित हुने गरेका छन् ।
साँघु बग्छ, फेरि बनाइन्छ
स्थायी पुल नहुँदा स्थानीय युवाहरूले काठ जोडेर अस्थायी साँघु निर्माण गर्दै आएका छन् । खोलामा पानीको बहाव बढेपछि साँघु बग्ने र केही समय आवतजावत नै प्रभावित हुने गरेको छ ।

पुथा उत्तरगंगा गाउँपालिका–५ की रबिना घर्तीमगरका अनुसार सडक बनेर सवारीसाधन सञ्चालनमा आए पनि वर्षायाममा मयाङ खोला पार गर्नुपर्ने बाध्यता कायमै छ ।
बिरामी परेको अवस्थामा खोला बढेमा झन् समस्या हुने भन्दै उहाँले स्थानीयले जोखिम मोलेर बिरामीलाई वारपार गराउनुपर्ने अवस्था रहेको बताउनुभयो । सडकभन्दा पहिले खोलाहरूमा पुल आवश्यक रहेको उहाँको भनाइ छ ।
मयाङ खोला पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडा जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ । यही सडकमार्फत वडा नम्बर १, २, ३, ४, ५ र ६ का नागरिक आवतजावत गर्ने गरेका छन् ।
वर्षायाममा खोलाको बहाव बढेपछि पुलको अभावमा यातायात सुविधा नै जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् । सडक निर्माण भएपछि गाउँबाट बाहिर जान तथा दैनिक उपभोग्य सामग्री ल्याउन सहज हुने अपेक्षा गरिए पनि वर्षायाममा खोलाले बाटो छेक्ने गरेको स्थानीयको गुनासो छ ।

कार्तिकपछि केही सहज
वडाध्यक्ष सेनका अनुसार कार्तिकको पहिलो सातापछि मयाङ खोलाको बहाव घट्ने भएकाले आवतजावत केही सहज हुने गर्छ । तर वर्षा सुरु भएसँगै हरेक वर्ष उस्तै समस्या दोहोरिने गरेको उहाँले बताउनुभयो ।
मयाङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि वडा तहमा पर्याप्त बजेट नभएको भन्दै उहाँले प्रदेश र संघीय सरकारले प्राथमिकताका साथ बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

स्थानीयका अनुसार सडकमा सवारीसाधनको पहुँच बढे पनि मयाङ खोलामा पुल नहुँदा वर्षायाममा सडकको सुविधा अधुरोजस्तै बनेको छ । हरेक वर्ष काठको साँघु बनाउने, बाढीले बगाउने र फेरि बनाउने चक्रले स्थानीयलाई जोखिम र झन्झट थपिरहेको छ ।
स्थानीयले मयाङ खोलामा तत्काल स्थायी पुल निर्माण गरी विद्यार्थी, बिरामी, किसान तथा दैनिक आवतजावत गर्ने नागरिकको जोखिमपूर्ण यात्रा अन्त्य गर्न सरकारसँग माग गरेका छन् । सडकले गाउँलाई जोड्न थाले पनि पुलको अभावले वर्षायाममा यही सडक सहज यात्राको माध्यमभन्दा बढी जोखिमको बाटो बन्ने गरेको छ ।।








प्रतिक्रिया राख्नुहोस्