तपाईँ सुन्दै हुनुहुन्छः

पिउने पानीका लागि कुवाको रोजाइ: प्रविधिको विकल्प कि अविश्वास?

धनकुटा । पहिले घरघरमा खानेपानीको धारा नपुग्दाको समयमा कुवा नै प्रमुख स्रोत थियो। अहिले अधिकांश घरमा पानीको धारा पुगेको छ, प्रशोधनका लागि विविध प्रविधि अपनाइएको छ, तर धनकुटा नगरका धेरै बासिन्दा अझै पनि पिउने पानीका लागि कुवामै भर पर्न बाध्य छन्।

धनकुटा नगरपालिका वडा न-६ स्थित आयुर्वेद अस्पताल मुनी रहेको कुवा आज पनि प्रमुख स्रोतको रूपमा प्रयोग भइरहेको छ। १९८६ सालमा स्थापना भएको आयुर्वेद औषधालय परिसरमा रहेको यस कुवालाई स्थानीयहरू “डाक्टर कुवा” भनेर चिन्छन्। नगरपालिकाको तथ्याङ्क अनुसार करिब २०० परिवारले यो कुवाबाट पानी लिन्छन्। त्यस्तै, वडा न-७ को जिरो प्वाइन्टस्थित कुवाबाट दैनिक २५० भन्दा बढी परिवारले पानी प्रयोग गर्दै आएका छन्। वडा न-४ मा रहेको गणेश धारा, जनकल्याण र वाग्ले कुवा पनि स्थानीय बासिन्दाहरूको प्रमुख आश्रय बनेका छन्। वडा न-५ को बिहीबारे हटियामा रहेको कुवाबाट पनि पानी लिने चलन अझै कायम छ। धनकुटा बजार क्षेत्रका तीन दर्जनभन्दा बढी कुवा अहिले पनि सक्रिय रूपमा प्रयोगमा छन्।

वडा न-४ का विनोद सुवेदीका अनुसार, घरमा पानीको धारा आए पनि उनले अन्दाजी १० वर्षदेखि पिउनका लागि कुवाको पानी बोकेर ल्याउने गरेका छन्। उनले धाराको पानी पिउनयोग्य छैन भन्ने शङ्काले कुवामै भर पर्ने गरेको बताउँछन्। वडा न-६ का नरेश श्रेष्ठ पनि लामो समयदेखि कुवाको पानी नै प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, “धाराको पानी मिठो हुँदैन, वर्षामा त झन् धमिलो हुन्छ। त्यसैले कुवाकै भर पर्नुपर्छ।”

नगरपालिकाको अनुसार, करिब ९० प्रतिशत घरमा पानीको धारा पुगेको छ। तर, वितरण गरिएको पानीको गुणस्तरप्रति सन्तोषजनक नहुनाले करिब ५० प्रतिशतभन्दा बढी धनकुटेली अझै पनि पिउनका लागि कुवाको पानी प्रयोग गर्दै आएका छन्। नगर क्षेत्रमा ४१० खानेपानी स्रोतमध्ये ३८९ स्रोत पिउन योग्य रहेको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए।

धनकुटा नगरपालिका बाहिरका अधिकांश ग्रामीण क्षेत्रमा अझै पनि कुवा र मूललाई खानेपानीको स्रोतको रूपमा प्रयोग गरिन्छ। समग्र जिल्लाको करिब १० प्रतिशत घरपरिवार कुवाबाट पानी ल्याउन बाध्य छन्। तथापि, अहिलेको प्रवृत्तिमा स्वेच्छाले पनि धेरैले कुवाको पानी प्रयोग गरिरहेका छन्। केही स्थानमा त कुवाबाट पानी पाइपमार्फत घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

यसले देखाउँछ कि घरमा धारा पुगे पनि गुणस्तरीय, स्वच्छ र पिउन योग्य पानीको खोजीमा अझै पनि धनकुटेलीहरू कुवामै भर परिरहेका छन् -बाध्यताले मात्र नभई विश्वसनीयताका कारण पनि।

प्रतिक्रिया राख्नुहोस्

Back to top button