तपाईँ सुन्दै हुनुहुन्छः

यु-१६ क्रिकेट टिम छनोट सुरु

रुपन्देही। अन्डर–१६ प्रदेशस्तरीय क्रिकेट टिम छनोटका लागि रुपन्देही जिल्लामा खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा शनिबारदेखि जिल्लास्तरीय टिम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धीरज अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार यही जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट सङ्घले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टिम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।

क्षेत्रीका अनुसार सार्वजनिक सूचना आह्वान पछि यु–१६ का १ सय २४ जना खेलाडीहरूले फारम भरेर छनोट खेलमा सहभागिता जनाएका छन् । यी खेलाडीहरूबाट उत्कृष्ट छनोट गरी ४ टिम बनाई मङ्गलवारदेखि प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टिम बनाइने क्षेत्रीले बताउनुभयो । खेलाडीहरूलाई प्रशिक्षक शङ्कर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनुहुने छ ।

छनोट खेलमा सहभागी हुन आएका क्रिकेटर आरिफ खान, स्वस्तिक पराजुली र समीर ओलीले टिममा छनोट हुनका लागि खेलाडीहरूबिच तीव्र प्रतिस्पर्धा रहेको बताउनुभयो । आफूहरूले राम्रो प्रदर्शन गरी छनोट हुने प्रयासमा रहेको उहाँहरूको भनाई छ ।

प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्वर भूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताउनुभयो । उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समावेश गरिने जनाउँदै त्यसका लागि तयारी थालिएको बताउनु भयो । धेरै खेलाडीहरू सहभागी भएकाले आफूहरूको प्रयास राम्रो गर्नेहरूलाई टिममा राख्ने भएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button