डडेल्धुराको अजयमेरुकोटमा अन्वेषण तथा उत्खनन् कार्य सुरु

डडेल्धुरा । डडेल्धुरामा रहेको प्रसिद्ध ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटमा अन्वेषण तथा उत्खनन् कार्य सुरु गरिएको छ ।
पुरातत्त्व विभागको टोलीले उक्त क्षेत्रमा अन्वेषण तथा उत्खनन् कार्य सुरु गरिरहेको अजयमेरु गाउँपालिकाले जनाएको छ ।
अजयमेरु कोटमा दरबार समेतका विभिन्न संरचनाहरू रहेका छन्, जुन जीर्ण अवस्थामा छन् । कोटकै पर हाट गाउँ छ, जहाँ थुप्रै देवलहरू समेत रहेका छन् र उक्त देवलहरूमा विभिन्न अभिलेखहरू समेत छन् ।
पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले अहिले तीन हप्तासम्मका लागि विभागका विज्ञ टोलीहरूले भग्नावशेषहरूको उत्खनन गर्ने बताउनुभयो । उहाँले वि.सं. २०६६÷०६७ देखि नै अध्ययन गर्न थालिएकोमा विभागले अहिले अन्वेषण तथा उत्खनन गर्ने कार्य गर्न लागेको जानकारी दिनुभयो ।
अजयमेरुकोट भएको अग्लो डाँडामा रहेका संरचनाहरू भत्किएको अवस्थामा भएकाले र केही भत्किसकेकाले ती संरचनाहरू कुन दरबार हुन ? कुन बैठक स्थल हुन ? जस्ता कुरामा अनुमान वा कल्पना गरेर भन्न नसकिने उहाँले बताउनुभयो ।
विभागले भने पूर्ण आकारको दरबार वा भवन बनाउने नभई उत्खनन् गरी प्राविधिकको समूहले नम्बरिङ गर्ने काम गर्ने छ ।जयमेरुकोटको मुख्य दरबार यहीको पनि भन्न नमिल्ने विभागले जनाएको छ ।
अजयमेरु गाउँपालिका वडा नं २ मा रहेको अययमेरुकोटलाई हाट कोट पनि भनिन्छ । यस क्षेत्रमा थुप्रै भग्नावशेष हरू रहेका छन् । अहिले उक्त भग्नावशेषहरूको उत्खनन् कार्य भइरहेको हो । वडा नं २ का अध्यक्ष शिवराज भट्टले पुरातत्त्व विभागले अहिले प्रारम्भिक चरणको काम सम्बन्धित क्षेत्रमै आएर गरिरहेको बताउनुभयो ।
उहाँले अजयमेरु कोटको क्षेत्र अजयमेरु पार्कदेखि कोट, हाटमा रहेका देवलहरू तथा अमरगढी नगरपालिका वडा नं ४ मा रहेको खजाना घरसम्मका ऐतिहासिक तथा पुरातात्त्विक कोट, देवल, रानी पोखरी, रानी ताल, गुफाहरू, घोडा तवेलीलगायतका संरचनाहरू कोट अन्तरगत पर्ने भएकाले त्यसको संरक्षण र सम्वद्र्धन गर्ने काम भइरहेको बताउनुभयो ।
अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी अजयमेरुकोटमा अन्वेषण तथा उत्खनन् कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । उहाँले यो वर्ष रु ९० लाख बजेट विनियोजन गरि काम गरिरहेको जानकारी गराउनुभयो ।
प्राचीन राजा नागी मल्लको ग्रीष्मकालीन दरबारका रुपमा इतिहासकारहरूले व्याख्या गरेको अजयमेरुकोटमा कतिपय संरचनाहरू जीर्ण रुपमा रहेकाले संरचनाहरू के थिए ? भन्ने कुरा अध्ययन अनुसन्धानबाट पत्ता लाग्ने हुँदा हाललाई अन्वेषण तथा उत्खनन् गरी पछि गएर उक्त क्षेत्रमा प्राचीन वास्तुकला झल्काउने किसिमले कोट निमार्ण गर्ने पालिकाको लक्ष्य रहेको छ ।
इतिहासकारहरूले कत्युरी राजवंशका राजा अजयपाल देवले ११औँ शताब्दीको सुरुवातीमा यो दरबार निर्माण गरेकोमा यसको नाम अजयमेरु रहन गएको बताउनुभएको छ । राजा निरयपाल देवका ताम्रपत्र विसं १४१९ सम्म अभिलेखमा रहेको यो कोट राजा नागी मल्लले विस १४४१ मा कब्जा गरेकोमा यसलाई राजा नागी मल्लको दरबारका रुपमा पनि लिने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्