तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक अस्पतालमा प्रसूति शल्यक्रिया कक्ष थप, सेवा प्रवाहमा सहजता आउने विश्वास

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्षको उद्घाटन गर्नु भएको छ । उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अव पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौँ भन्ने लागेको छ ।’

प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको महत्वपूर्ण योगदान जरुरी रहेको औँल्याउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डाक्टर वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल लगायतको सहभागिता थियो ।

विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button