खुला सीमाको कारण आवतजावत नरोकिएपछि पर्सामा सशस्त्र प्रहरीद्वारा आइलेन्स गस्ती शुरु

बिरगंज । लकडाउनको समयमा समेत भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने क्रम नरोकिएपछि सशस्त्र प्रहरी र भारतीय एसएसवी फोर्सद्वारा सीमा क्षेत्रमा दोहोरो आइलेन्स गस्ती आजबाट शुरु गरिएको छ ।
नेपाल र भारततर्फ दुवै देशका सुरक्षाकर्मीले आ–आफ्नो गस्तीका लागि खटिएको सुरक्षाकर्मीलाई देख्नेगरी बाक्लो रुपमा सीमा क्षेत्रमा सुरक्षाकर्मी खटाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल पर्साले सीमामा पैदल गस्ती गरेपनि सीमा क्षेत्रबाट हुने आवतजावत नरोकिएपछि आइलेन्स गस्ती शुरु गरिएको सशस्त्र प्रहरी उपरिक्षक कुँवरले बताउनुभयो ।
खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा आईलेन्स गस्ती थालिएको र यसका लागि सशस्त्र प्रहरी हेडक्वाटर र चिवतनबाट थप जनशक्ति मगाईएको समेत कुँवरले बताउनुभयो ।
अहिले पर्साको एक सय सात किलो मिटरको खुला सिमामा गस्तीका लागि भन्सार सहित १० वटा युनिट सक्रिय रहेकोमा अहिले थप नौ वटा विओपी स्कूल र टेन्टमा बस्ने गरी आजबाट मिलाईएको छ ।
यसका लागि अहिले सीमा क्षेत्रमा गस्तीका लागि चार सय सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी उपरिक्षक कुँवरले बताउनुभयो ।
खुलासीमामा खटिने सशस्त्र प्रहरीहरुलाई तत्कालका लागि खाना र पानीको व्यवस्था गाडीबाटै पुर्याइने र सीमाबाट अब कुनै नयाँ मानिस प्रवेश गर्न नसक्ने गरी डियुटी मिलाइएको सशस्त्र प्रहरी उपरिक्षक कुँवरले बताउनुभयो ।
अहिले सशस्त्र प्रहरी र भारतको एसएसवीको समन्वयमा गस्ती भइरहेको र यताबाट नेपाल आउन खोज्नेलाई भारत तर्फकै क्वारेन्टाईनमा राख्ने र नेपालबाट भारत जान खोज्नेलाई नेपाल तर्फकै क्वारेन्टाइनमा राख्ने सहमति अनुसार वीरगंजको ठाकुर राम क्याम्पसमा रहेको क्वारेन्टाइनमा एक्सय ७७ जना भारतीय नागरिक रहेको र रक्सौलमा रहेको क्वारेन्टाइनमा १६ जना नेपाली रहेको समेत कुँवरले बताउनुभयो ।
सशस्त्र प्रहरीले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य गरिरहेको बताउदै कँुवरले पर्साको खुला सिमामा पर्ने खोला नाला, बगर, बनजंगल र वस्तीमा समेत गस्ती भई रहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्