तपाईँ सुन्दै हुनुहुन्छः

प्राङ्गारिक मलको प्रयोग जरुरी : कृषिमन्त्री चौधरी  

जनकपुरधाम । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाको लक्ष्मीनियामा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री चौधरीले रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोगमा बढाउन किसानहरूलाई आग्रह गर्नुभयो ।

उहाँले रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगका कारणले अहिले माटो उर्वराशक्ति कमजोर हुनुका साथै सर्वसाधारण तथा वातावरणमा नकारात्मक प्रभाव परेकाले यसलाई कम गर्दै जानुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले धान खेतमा माछा तथा गँगटो अहिले कम हुनुमा रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग नै मूल कारण भएको बताउँदै आफ्नो शरीर तथा माटोको बिग्रेको स्वास्थ्य सुधारका लागि प्राङ्गारिक तथा जैविक विषादीको प्रयोग गर्न जरुरी रहेको बताउनुभयो ।

कृषिमन्त्री चौधरीले यस ठाउँमा सञ्चालन भएको कष्टम हायरिङ्ग सेन्टर राम्रोसँग सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै समूहबाट आएको मागको सम्बोधनका लागि प्रयास हुने बताउनुभयो ।

सहकारी संस्थाका सदस्य रञ्जिता यादवले कष्टम हायरिङ्ग सेन्टर स्थापनाले निकै फाइदा पुगेको र सस्तोमा कृषि उपकरणहरू प्राप्त भएको बताउँदै धान रोप्ने मेसिन उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

कृषि सहकारी संस्थाका अध्यक्ष वविता देवी यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्था प्रबन्धक सरोज कुमार यादवले संस्थाको अवस्था बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button