तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा छ राष्ट्रिय व्यक्तित्वका सालिक अनावरण

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको आज एक कार्यक्रमबीच अनावरण गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आज बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गर्नुभएको हो । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको अर्धकदको नयाँ सालिक निर्माण गरिएको हो भने अन्य क्षतिग्रस्त पुराना सालिकहरूको पुनःनिर्माण तथा मर्मत गरिएको छ। यस सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहनुभएका नेपालगञ्जका स्वर्गीय सुशील कोइरालाको अर्धकदको सालिक करिब २३ लाख रुपैयाँको लागतमा ट्राफिक चोक नजिक रहेको उद्यानमा निर्माण गरिएको छ ।

त्यसैगरी, गणेशमान चोकस्थित नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्ण कदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।

यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्ण कदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको छ भने पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ ।

यसैगरी, न्युरोडस्थित सहिद सेतु विकको अर्ध कदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ । विकले २०६२र६३ को जनआन्दोलनमा सोही ठाउँमा सहादत प्राप्त गर्नुभएको थियो । 

उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । सुशील कोइरालाको सालिक रहेको उद्यान बाहेक अन्य सबै सालिक अवस्थित चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।

सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो ।

सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नगर प्रमुख विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक सालिकहरू क्रमशः पुनःस्थापना गरी अनावरण गरिएको बताउनुभयो ।

उहाँले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।

‘इतिहास हाम्रो साझा सम्पत्ति हो । यसलाई संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो,’ नगर प्रमुख विष्टले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button