तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन, पूर्व–पश्चिम राजमार्गलगायत विभिन्न स्थानमा यातायात ठप्प

सुनसरी।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समूहबीच भएको झडपपछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। 

कर्फ्युको आदेशलाई उल्लङ्घन गर्दै करिब ४ देखि ५ सयको सङ्ख्यामा भेला भएका स्थानीयहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले सुनसरीको कोशी गाउँपालिका, कप्तानगन्ज र इनरुवालगायतका क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत प्रमुख सडक खण्डहरू अवरुद्ध पारेका छन्। सडकमा टायर बालेर तथा रूखका मुढा राखी सवारी आवागमन ठप्प पारिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत प्रभावित भएको छ। अवस्था नियन्त्रण बाहिर जान नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति गराइएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ। कर्फ्यु जारी रहेकै अवस्थामा ठूलो सङ्ख्यामा सर्वसाधारण सडकमा ओर्लिएपछि स्थिति थप तनावपूर्ण बनेको छ। 

सम्भावित अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ। आइतबार राति कप्तानगन्जमा दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। उक्त हिंसात्मक झडपमा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी कुल २२ जना घाइते भएका छन्।

 घाइतेहरूलाई उपचारका लागि विराटनगरका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घटनालगत्तै बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button