मुडे–चरिकोट सडक स्तरोन्नतिकाे काम नयाँ प्रक्रियाबाट अघि बढ्ने

दोलखा । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामोसाँगु– जिरी सडकको स्थलगत अनुगमन गर्नुभएको छ ।
शनिवार दोलखा आउनुभएका मन्त्री द्वय लम्साल र गौतमले दुई दिन दोलखा बसाइँको क्रममा मुडे–चरिकोट सडक, खिम्ती आयोजना स्थलमा तामोकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालिदहको पहिरो, तामाकोशीको पुल, जिरी, खरीढुङ्गास्थित ओरियण्ट म्याग्नेसाईट लगायतको स्थलगत अनुगमन गर्नुभएको हो ।
आइतबार चरिकोटमा भएको छलफलको क्रममा मन्त्री लम्सालले मुडे– चरिकोट सडक स्तरोन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकोले अब कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने र सडक स्तरोन्नतिका लागि नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो ।
मन्त्री लम्सालले दोलखा जिल्लामा सडक पूर्वाधारको लागि १७२ करोड रकम छुट्टाईएकोले स्थानीय आवश्यकताका आधारमा नयाँ सडक निर्माण, स्तरोन्नति लगायतका योजना बनाउन सरोकारवाला निकायलाई आग्रह समेत गनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले निर्माण व्यवसायीहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाइएको उल्लेख गर्दै अब पनि काम नभए कानुन अनुसार कारबाही हुने बताउनुभयो । पूर्वाधार अदालत गठनको तयारी भइरहेकोले आगामी दिनमा क्रोनिक ठेक्का पूर्वाधार अदालतले हेर्ने मन्त्री गौतमले बताउनुभयो ।
छलफलको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले मन्त्री लम्साललाई विकास आयोजनाका बारेमा ध्यानाकर्षण पत्र बुझाएको सह–सचिव अर्जुन कार्कीले जानकारी दिनुभयो । उक्त ध्यानाकर्षण पत्र रास्वपा दोलखाका अध्यक्ष दिनेश बस्नेतले मन्त्री लम्साललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा दोलखाबाट निर्वाचित सांसद जगदिश खरेल, सांसद स्मृति सेञ्चुरी लगायतको सहभागिता रहेको थियो ।
ध्यानाकर्षण पत्रमा मुडे–चरिकोट सडक कालोपत्रे, तामाकोशीको पक्की पुल, पुष्पलाल मार्गको भीरकोट– कालिदह खण्डको पहिरो, मुडे– मेलुङ– सितली सडक समस्याग्रस्त बनेकोले त्यसको तत्काल समाधान खोजिनुपर्ने, तामाकोशी तेस्रो आयोजना, ओरियण्ट म्याग्नेसाईट लगायतका गौरवको आयोजना सञ्चालन आदि विषयमा समेटिएको सह–सचिव कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्