तपाईँ सुन्दै हुनुहुन्छः

छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता

सीपी लोहिया, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक बर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता बितरण गरेको जनाएको छ ।

स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाहरुलाई १ हजार रुपैंयाका दरले प्रोत्साहन भत्ता पाएका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेको उहाँले बताउनुभयो ।

छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोरा–छोरी बीचको समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । छोरीहरुले पनि छोरासरह नै काम गर्न सक्छन भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्ट्रिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उपाध्यक्ष कार्कीले बताउनुभयो ।

नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायता बापत दिने २ हजार र चार पटक गर्भ जाँच गराए वाफत पाउने ८ सय दिँदै आएकोमा गाँउपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाइ थप १ हजार प्रोत्साहन भत्ता दिएको हो । सबै गरेर छोरी जन्माउने आमाले ३ हजार ८ सय पाउदैंछन् ।
छोरा जन्मदा मात्रै खुशी हुने हाम्रो समाजको लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी बीच हुने भेदभावमा कमी आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button