पाल्पा जिल्ला कोरोना मुक्त

पाल्पा । पाल्पा यतिखेर कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएका मध्ये १ जनाको मृत्यु भईसकेको छ । संक्रमितहरु मध्ये ५ सय ६० जना निको भएर घर फर्किसकेका छन् । रम्भा गाँउपालिकाका चार जना कोरोना संक्रमितहरु लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरबाट डिस्चार्ज भएसंगै पाल्पालाई कोरोना संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मापडण्ड अनुसार उनीहरुमा कुनै लक्षण नदेखिएको र पिसिआर परिक्षण नगरी घर पठाईएपछि स्वास्थ्य कार्यालयले संक्रमण मुक्त भएको जनाएको हो ।
जिल्लामा हाल सम्म ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला थिए ।
सबैभन्दा बढी संक्रमित पूर्वखोला गाउँपालिकामा भेटिएपछि सबै भन्दा बढी प्रभावित बन्यो । पूर्वखोला गाउँपालिकामा ४ सय ३३ जना बिदेशबाट फर्किएकाहरुको परीक्षण गरिएकोमा १ सय ६० जनामा संक्रमण देखिएको थियो । यसै गरि सबैभन्दा कम रिव्दीकोट गाउँपालिकामा संक्रमण देखिएको थियो । रिव्दीकोटमा १ सय २६ जनाको परीक्षण भएकोमा ५ जना संक्रमित भेटिएका थिए । यसै गरि बिदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षणको क्रममा रामपुर नगरपालिकामा ५ सय ८७ जनाको परीक्षण गरेकोमा १ सय १७ जनाको पोजिटिभ नतिजा आएको थियो । स्वास्थ्य परिक्षणको क्रममा माथागढी गाउँपालिका भित्र ३ सय २२ जनामा ३० जनामा संक्रमण भेटिएको थियो भने रैनादेवीछहरा गाउँपालिकामा ६ सय ३२ जनाको परीक्षण भएकोमा ३९ जना संक्रमित भेटिएका थिए ।
कोभिड १९ को परिक्षणका क्रममा रम्भा गाउँपालिकामा २ सय ५ जनाको परीक्षण भएकोमा ४४ जना संक्रमित भेटिएका थिए । बगनासकाली गाउँपालिका ३ सय २१ जनाको परीक्षण भएकोमा ४२ जनाको कोरोना पोजिटिभ भेटियो । तिनाउँ गाउँपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ८ जना संक्रमित, निस्दी गाउँपालिकामा ३ सय ३२ जनामा पीसीआर परीक्षण भएकोमा ९९ जनाको पोजिटिभ र तानसेन नगरपालिकामा ६ सय ३६ जनामा परीक्षण भएकोमा १४ जनामा मात्र संक्रमण भेटिएको थियो । यसैगरी सदरमुकाम तानसेनको पाल्पा अस्पतालमा १ सय ६ जनाको परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको थियो ।
समुदाय स्तरका १ सय १८ जनाको पीसीआर परीक्षण भएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । समुदाय स्तरमा संक्रमण फैलन नदिन सचेत र सजग रहन सबैलाई आग्रह गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्