वीरे खोलाको बाढीले २३ परिवार विस्थापित
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरे खोला झरनामा आएको भीषण बाढीले २३ परिवार विस्थापित भएका छन्।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि पहिरोले खोला थुनिएर बनेको ताल फुट्दा एक्कासि ठूलो बाढी आएको स्थानीय लालसिंह साउँदले बताउनुभयो । बाढी गाउँको बिचबाटै पसेपछि घरमा प्रत्यक्ष क्षति नभए पनि २३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडूवालका अनुसार बाढीबाट ४१ परिवार प्रभावित भएका छन् भने थप १८ परिवार जोखिममा रहेका छन्।
बाढीले एक माछा पोखरी, दुई पानीघट्ट र वीरे खोला झरनाको टिकट काउन्टरमा क्षति पुर्याएको कार्यवाहक वडाध्यक्ष बडूवालले बताउनुभयो। बाढीले किसानका धानबाली समेत बगाएर खेतलाई बगरमा परिणत गरेको उहाँले जानकारी दिनुभयो । बाढीपछि विस्थापित परिवारलाई तत्काल खान र बस्नको समेत समस्या भएको रेडक्रस बाजुराका मन्त्री विपिन बिष्टले बताउनुभयो ।
घटनाको विस्तृत क्षतिबारे विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुराले विस्थापित परिवारलाई तत्काल बासका लागि त्रिपाल उपलब्ध गराएको रेडक्रस मन्त्री बिस्टको भनाई छ।








प्रतिक्रिया राख्नुहोस्