एसिसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियाले दिएको एक सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुलशनकुमार झाले अविजित ४४, ईशान पाण्डेले ४४, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।
बलिङतर्फ साउदी अरेबियाका लागि इश्ताक अहमद र मुहम्मद आतिफले दुई दुई विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले ४९।२ ओभरमा सबै विकेट गुमाएर एक सय ९० रन बनायो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले ८९ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए ।
बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन तीन, ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटको पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्