बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगायो
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाउँदा चुमनुब्रीबासी सङ्कटमा परेका छन् ।

ठूलो पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो ।
थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको छ । ‘बाढी पहिरोले हामीलाई सङ्कटमा पार्यो’, ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो । कतै जान पनि नमिल्ने भयो ।’ साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघु जलविद्युत आयोजना पनि जगैबाट बगाएर लगेको छ ।

पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनासलुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्के पासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् । पहिरोसँगै आएको पहिरोले राती स्थानीय चार जनाको घर बगाएको प्रहरीले जनाएको छ ।
बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाढी पीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताउनुभयो ।
लार्केपास पदमार्गको यात्रा नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो ।
आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो । बाढीले चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जङ्गल जाने बूढीगण्डकी नदीको झोलुङ्गे पुल समेत बगाएको प्रशासनले जनाएको छ ।
“मिति २०८३ भदौ २१ गते बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आई चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ जोड्ने फलामे पुल र गापदेखि नामरुङ जङ्गल जाने बूढीगण्डकी नदीको झोलुङ्गे पुल समेत बगाएकोले मनास्लु पदमार्ग अथवा लार्केपास पदमार्ग यात्राको तयारी अवस्था वा यात्रामा रहनुभएका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
कुनै पनि विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा जानकारी गराउन पनि प्रशासनले आग्रह गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्