तपाईँ सुन्दै हुनुहुन्छः

भालुले हैरान पार्यो हिमाली भेगका किसानलाई

सोलुखुम्बु । सोलुखुम्बुका लेकाली भेगका बारीमा भालुले मकै खाएर हैरान पारेपछि बारीभरि साना साना छाप्रा र त्यसमा टिन झुन्ड्याएर वर्षभरी खाने खेती जोगाउनु कृषकहरूको बाध्यता बनेको छ । मकैको घोगा लाग्न थाले लगत्तै सोलुखुम्बुका हिमाली गाउँहरूमा भालुले मकै स्वाहा पार्न थालेपछि कृषकहरूले रातभर बारीमा टिन बजाएर जागै बस्नुपरेको हो । 

भालुले रातभरि मकै खाएर हैरान बनाएपछि बारीमै छाप्रो निर्माण गरी आगो बालेर भालु लखेट्न थालेको तामा खानीका कृषक कृष्णबहादुर मगरले बताउनुभयो । ‘भालु खेद्न रातभर बारीमा नै बस्नुपर्छ, एक छिन निदायो भने मकै सबै भालुले खाइदिन्छ’ उहाँले भन्नुभयो । रातभरि भालु धपाउन बारीमा बसेपछि विद्यालयमा आएका विद्यार्थी पनि निदाउने, शिक्षकले दिएको गृहकार्य नगर्ने गरेको पिके माध्यमिक विद्यालयका शिक्षक माधव धमलाले बताउनुभयो । 

जिल्लाका सल्लेरी, तामाखानी, बेनी, टाक्सिन्दु लगायतका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बनेको छ । बर्सेनि भालुको आक्रमणबाट कृषकहरू सख्त घाइते तथा केहीको मृत्यु भएका घटनाले समेत उनीहरू त्रसित बनेका हुन् । बेनीको फेरा आसपासका हरेक किसानले बारीमा छाप्रो बनाई टिन ठटाएर भालु लखेट्न थालेका छन् । 

‘हामीले सुत्न पाएका छैनौँ, रातभर भालुको ड्युटी गर्दा ठिक हुन्छ, फेरी कतिबेला आएर खाइहाल्छ’ फेराका कृषक फुर्वा शेर्पाले गुनासो गर्नुभयो । ‘भालु मार्दा कानुन लाग्छ भन्छन् नमार्दा यसले त वर्षभरिका कमाई भुसुक्कै पार्ने भो’ रोशीका कृषक चक्रबहादुर बस्नेतले भन्नुभयो । 

भालु एउटैले बारीमा पस्न पायो भने सबै मकै खाने र माड्ने गरेर स्वाहा पार्ने गर्दछ । जिल्लाका रिङमु, फेरा र जुनबेशी लगायतका क्षेत्रमा पनि भालुले सताएको कृषकहरूको गुनासो छ । 

यता जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले भने कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पुर्‍याउन नपाइने बताउँदै आएका छन् । अन्य वैकल्पिक उपायहरू अपनाएर नै बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान समेत नभएको जिल्ला वन कार्यालयले जनाएको छ । मानिसलाई नै क्षति पुर्‍याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।

वडा कार्यालयमा भालुलगायत जङ्गली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको आउने गरेको सोलुदूधकुण्ड नगरपालिका–३ का वडा अध्यक्ष लाक्पागेलु शेर्पाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button