गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय वीरगन्जमा मृत फेला
वीरगन्ज। नेपाली पत्रकारिता क्षेत्रका परिचित व्यक्तित्व तथा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५५ वर्षको उमेरमा वीरगन्जमा दुःखद निधन भएको छ।
तनहुँको भानु नगरपालिका–१, भन्सारपुल स्थायी घर भएका उपाध्याय बुधबार दिउँसो वीरगन्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा फेला पर्नुभएको थियो।
प्रहरीका अनुसार उपाध्याय पछिल्लो दुई–तीन महिनादेखि बाराको सिमरास्थित एक होटलमा बस्दै आउनुभएको थियो। उहाँलाई यसअघि पनि पटक–पटक अचेत अवस्थामा सडकबाट उद्धार गरिएको थियो।
गत शनिबार पुनः अचेत भएपछि उहाँलाई सिमरास्थित सिटी अस्पताल लगिएको थियो। त्यसपछि कलैया अस्पताल हुँदै मंगलबार राति वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उहाँ मंगलबार राति अस्पतालबाट कसैलाई जानकारी नदिई बाहिरिनुभएको थियो।
सीसीटीभी फुटेजमा अस्पतालबाट निस्किएपछि उपाध्याय वीरगन्जको मुख्य सडक हुँदै माईस्थान मन्दिर अगाडिको पार्कसम्म पुग्नुभएको देखिएको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो गहवामाई मन्दिर अगाडि अचेत अवस्थामा फेला परेपछि वडा प्रहरी कार्यालय विर्ताको टोलीले उहाँलाई उद्धार गरी पुनः नारायणी अस्पताल पुर्याएको थियो। तर, चिकित्सकले उहाँको निधन भइसकेको घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उपाध्यायको शव हाल नारायणी अस्पतालमै राखिएको छ। तनहुँमा रहेका उहाँका परिवारका सदस्यसँग सम्पर्क गरी घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
सञ्चार क्षेत्रमा लामो समय योगदान पुर्याउनुभएका उपाध्यायको असामयिक निधनपछि पत्रकारिता क्षेत्रमा शोक छाएको छ।








प्रतिक्रिया राख्नुहोस्