बाढीपीडितका लागि सोफिया स्कुलका विद्यार्थी र शिक्षकद्वारा तीन लाख ४५ हजार ७७१ सहयोग
बाँके । नेपालगञ्जस्थित सोफिया रेसिडेन्टल इङ्लिस स्कुलका विद्यार्थी, शिक्षक तथा कर्मचारीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तीन लाख ४५ हजार ७७१ रुपैयाँ सहयोग गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वैच्छिक सहयोग गर्न आह्वान गरेको थियो । विद्यालयको आग्रहपछि विद्यार्थी तथा शिक्षकले स्वतःस्फूर्त रूपमा सहयोग रकम सङ्कलन गरेका हुन् ।
विद्यार्थीले कक्षा शिक्षकमार्फत उपलब्ध गराएको रकमसहित सङ्कलित तीन लाख ४५ हजार ७७१ रुपैयाँ आज विद्यालयमा आयोजित कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेलाई हस्तान्तरण गरिएको हो । उक्त रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।

विद्यालयका प्रधानाध्यापक सुरेश गुरुङले विपद्को समयमा पीडित नागरिकप्रति मानवीय संवेदना अभिव्यक्त गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी बसेलले विपद्का समयमा गरिएको सहयोग आर्थिक योगदान मात्र नभई पीडित नागरिकप्रतिको मानवीय दायित्व र सामाजिक ऐक्यबद्धताको अभिव्यक्ति भएको बताउनुभयो ।
विद्यालयकी संस्थापक एवं निर्देशक सुशिला बसेलले शिक्षाको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी समाज र समुदायप्रतिको जिम्मेवारी बोध गराउनु पनि भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य डा. डम्बरप्रसाद धितालले विद्यार्थी अवस्थादेखि नै सहयोग, सहकार्य र सामाजिक सेवाको संस्कार विकास गर्न सके जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
चेक ग्रहण गर्दै प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले सोफिया रेसिडेन्टल इङ्लिस स्कुलले विपद्का समयमा देखाएको सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्नुभयो । अध्यक्ष बज्राचार्यले बाँके जिल्लाका अन्य निजी विद्यालयलाई पनि विपद्का समयमा यस्ता मानवीय अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । विपद्को सामना र प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि सामूहिक एकता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्याब्सन बाँकेका सचिव विज्ञान शाह र नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष मानबहादुर थापाले पनि सोफिया रेसिडेन्टल इङ्लिस स्कुल परिवारको प्रशंसा गर्नुभयो । उहाँहरूले विपद्को समयमा शिक्षण संस्थाले मानवीय नेतृत्व प्रस्तुत गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताउनुभयो ।
विद्यालयमा हाल एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहयोग र सहकार्यको संस्कार विकास गराउने उद्देश्यले विभिन्न सामाजिक गतिविधिमा सहभागी गराउँदै आएको जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यालय परिवारले गरेको आर्थिक योगदानले विपद्को समयमा शिक्षा क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक दायित्व र मानवीय भूमिकालाई थप उजागर गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्