तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको भट्टारमा पहिरो, १० परिवारलाई सुरक्षित स्थानमा सारियो

बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि त्यहाँका बस्ती उच्च जोखिममा परेका छन् । पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहावसमेत बढेको छ ।

पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । “यहाँका १० परिवारलाई आफन्तको घरमा सारिएको छ, केही आवश्यक टेण्टलगायतका सामाग्री उपलब्ध गराइएको छ”, अध्यक्ष बोहराले भन्नुभयो ।

अध्यक्ष ठेकरे बोहोराका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्‍याएको छ । पहिरो अझै पनि लगातार पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत उहाँले बताउनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले पहिरोले चौलानी नदीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताउनुभयो । नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button