तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी बाढीपछि छोरा बेपत्ता, दिनमा सयौँपटक मोबाइलमा फोन गर्दै बुबा

रौतहट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि छोरा सम्पर्कविहीन भएपछि रौतहटको वृन्दावन नगरपालिका–२ धनगढीका दिन दियाल राउतको दैनिकी छटपटीमै बितिरहेको छ । करिब ६० वर्षीय राउत दिनमा सय पटकभन्दा बढी छोराको मोबाइलमा फोन डायल गर्नुहुन्छ । फोन लाग्ने आशमा उहाँको हात पटक–पटक मोबाइलतर्फ पुग्छ, तर अहिलेसम्म कुनै खबर आएको छैन । 

गत भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि राउतका छोरा गौरव राउत परिवारको सम्पर्कमा आउनुभएको छैन । गौरव रसुवामा निर्माणाधीन अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक २१६ मेगावाट आयोजनामा तालिम प्राप्त प्राविधिकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

छोरा हराएदेखि नै दिन दियालले खोजी कार्यमा संलग्न व्यक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेर अवस्थाबारे जानकारी लिइरहनुभएको छ । “मोबाइलमा फोन गरिरहन्छु, कतैबाट फोन आउँछ कि भनेर कुरेर बस्छु,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म छोराको कुनै खबर आएको छैन ।”

गौरव हराएपछि उहाँकी आमाको आँखाबाट आँसु सुक्न सकेको छैन । श्रीमती निभा राउतको अवस्था पनि उस्तै छ । उहाँले पनि श्रीमानको मोबाइलमा पटक–पटक फोन गरेर सम्पर्क गर्ने प्रयास गरिरहनुभएको छ । श्रीमानको अवस्थाबारे कुनै जानकारी नहुँदा निभा पटक–पटक बेहोस हुने गरेको बुबा दिन दियालले बताउनुभयो । 

गौरवको खोजीका लागि परिवारका सदस्यहरु आफैँ घटनास्थल पुगेका छन् । गौरवका भिनाजुसहित गाउँकै चार जना खोजी टोलीमा सहभागी भएर रसुवातर्फ पुगेका छन् ।  गौरवका दाइ सरोज पटेल पनि खोजीमा खटिनुभएको छ । उहाँहरूले चितवनदेखि रसुवासम्म विभिन्न स्थानमा पुगेर गौरवको खोजी गरिरहेको परिवारले जनाएको छ । 

बाढीले बगाएर ल्याएका शव भेटिएको तथा प्रभावित क्षेत्रमा शव फेला परेको जानकारी प्राप्त हुनेबित्तिकै परिवारका सदस्यहरू त्यहाँ पुग्ने गरेका छन् । शव भेटिएका स्थानमा पुगेर परिवारका सदस्यहरुले गौरवको पहिचान गर्ने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म गौरव जीवित वा मृत अवस्थामा फेला पर्नुभएको छैन । 

गौरवको गत २०८२ साल वैशाखमा पर्साको धोबिनी गाउँपालिका–स्थित गुलरियाका स्थानीय विजय राउतकी छोरी निभासँग विवाह भएको थियो । सन्तान नहुँदै विवाह भएको १५ महिना मै श्रीमान् सम्पर्कविहीन भएपछि निभाको जीवनमा ठूलो बज्रपात परेको परिवारको भनाइ छ । 

गौरवको खोजीमा निभाका बुबा र भाइसमेत रसुवा पुगेका छन् । आफन्तहरू निरन्तर खोजीमा रहे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त नहुँदा परिवारमा चिन्ता झनै बढ्दै गएको छ । 

“छोरा कहाँ छ भन्ने थाहा छैन । जीवितै भेटिएला भन्ने आश अझै मरेको छैन,” दिन दियालले भन्नुभयो, “हामीलाई छोराको अवस्थाबारे यथार्थ जानकारी चाहिएको छ ।”  

प्रतिक्रिया राख्नुहोस्

Back to top button