बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ सम्पन्न

नेपालगञ्ज । बाँकेमा कुल धान खेतीयोग्य क्षेत्रफलको ९७.३९ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब ३३ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ३२ हजार ६ सय ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
पछिल्लो समय रोपाइँले तीव्र गति लिएसँगै जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने आकाशे पानीमा निर्भर रहेका केही क्षेत्रमा मात्रै रोपाइँ बाँकी रहेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा। विनोद घिमिरेका अनुसार सिक्टा सिँचाई आयोजनाको कमाण्ड क्षेत्रसहित अन्य सिँचाई सुविधा पुगेका स्थानमा किसानले धान रोपाइँ सम्पन्न गरिसकेका छन् । पर्याप्त वर्षा भएपछि वर्षाको भरमा खेती गर्नुपर्ने क्षेत्रहरूमा समेत रोपाइँले गति लिएको उहाँले बताउनुभयो ।
यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले धान रोपाइँ केही ढिलो सुरु भए पनि पछिल्ला दिनमा भएको वर्षाले किसानलाई राहत पुगेको छ । खेतमा पर्याप्त चिस्यान भएपछि किसानहरूले धमाधम रोपाइँ गरेका हुन् ।
बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष पनि अधिकांश क्षेत्रमा समयमै रोपाइँ सम्पन्न हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अब जिल्लामा करिब २.६१ प्रतिशत अर्थात् करिब ८ सय ७३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ गर्न बाँकी छ । मौसम अनुकूल रही वर्षा भइरहे बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । समयमै रोपाइँ सम्पन्न भए धानको उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषि प्राविधिकहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्