तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी नेपालका कार्यवाहक अध्यक्ष बस्न्यातद्वारा पदभार ग्रहण

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले सिंहदरबारस्थित पिएसबी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पिएसबी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्न्यातलाई पिएसबी नेपालको सञ्चालक समिति सदस्य सोबिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पिएसबी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो ।

पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्न्यातले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनौतीकाबीच पनि अवसरको उपयोग गर्दै सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार र कार्यक्रमका विषयवस्तु तथा प्रविधिमा महत्वपूर्ण सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पिएसबी राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो । 

गत असार ३२ गतेको सूचना तथा सञ्चार मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक प्रसारण संस्था पिएसबीको सञ्चालक समिति बैठकको अध्यक्षता गर्ने गरी सदस्यमा नियुक्त बस्नेतलाइ हिजोबाट लागु हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button