एक महिनासम्म खुलेन मेची राजमार्गको राजदुवाली सडकखण्ड, जनजीवन प्रभावित
इलाम । बर्खा सुरु भएसँगै अवरुद्ध भएको मेची राजमार्गको माइखोला–राजदुवाली सडकखण्ड एक महिनासम्म पनि पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा पूर्वी पहाडको जनजीवन प्रभावित बनेको छ। मुख्य राजमार्ग नै लामो समयदेखि अवरुद्ध हुँदा इलामसहित पाँचथर, ताप्लेजुङ लगायतका पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, पशुपन्छीको दाना तथा कृषि सामग्रीको आपूर्तिमा समस्या हुन थालेको छ।

राजमार्ग अवरुद्ध हुँदा यसको सबैभन्दा ठूलो असर किसान तथा व्यवसायीमा परेको छ। बजारमा सामान ल्याउन र जिल्लाबाट उत्पादन भएका कृषि तथा दुग्धजन्य वस्तु बाहिर पठाउन समस्या भएपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्।
देउमाई नगरपालिका–६ का किसान मनबहादुर घिमिरेले सञ्चालन गरेको जनकल्याण कृषि तथा पशुपालन फर्ममा करिब दुई हजार लेयर्स कुखुरा छन्। करिब २० दिनअघि ल्याइएको कुखुराको दाना सकिन थालेपछि थप दाना ल्याउन समस्या भएको घिमिरेले बताए। सडक सञ्चालनमा नआउँदा समयमै दाना ल्याउन नसकिएको उनको भनाइ छ।
करिब एक महिनादेखि मेची राजमार्गको माइखोला अर्थात् राजदुवाली माथिको सडकखण्ड पूर्ण रूपमा प्रभावित भएपछि सवारीसाधनको नियमित आवागमन हुन सकेको छैन। सडकको अवरोधका कारण वारिका सवारी वारी नै र पारीका सवारी पारी नै रोकिएका छन्। यात्रुहरूलाई भने जोखिम मोलेर वैकल्पिक माध्यम तथा साना सवारीमार्फत आवतजावत गराउने प्रयास भइरहेको छ।
तर मालवाहक तथा ठूला सवारी सञ्चालन हुन नसक्दा समस्या झनै गम्भीर बनेको छ। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थ, पशुपन्छीको दाना तथा निर्माण सामग्रीको ढुवानीमा समस्या भएपछि बजारमा अभावको अवस्था सिर्जना हुन थालेको स्थानीयको भनाइ छ।
मेची राजमार्ग पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडक भएकाले यसको अवरोधले इलाममा मात्र नभई पाँचथर र ताप्लेजुङसम्म प्रत्यक्ष असर परेको छ। पहाडी जिल्लामा उत्पादन हुने कृषि उपज बजारसम्म पुर्याउन र तराईबाट आवश्यक सामग्री पहाडतर्फ ल्याउन यही सडक महत्वपूर्ण मानिन्छ।
वैकल्पिक सडक पनि भरपर्दो छैन
मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकमा समेत समस्या देखिएको छ। सो सडक अन्तर्गत जोगमाई खोलामा बनाइएको बेलिब्रिज बगाएपछि ह्युम पाइप राखेर डाइभर्सनमार्फत सवारी सञ्चालन गरिँदै आएको छ।
तर ठूलो पानी पर्दा डाइभर्सन बग्ने गरेको छ। डाइभर्सन बगेपछि पुनः मर्मत गरेर सञ्चालनमा ल्याउने गरिए पनि वर्षा निरन्तर भइरहेकाले जुनसुकै बेला पुनः अवरुद्ध हुन सक्ने अवस्था रहेको सवारी चालकहरू बताउँछन्।
कच्ची सडक भएका कारण सवारीको चाप बढेसँगै सडकको अवस्था पनि बिग्रिँदै गएको छ। सामान्य अवस्थामा साना सवारी सञ्चालन गर्नसमेत कठिन हुने सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न झनै समस्या हुने गरेको छ।
केचना–कञ्चनजङ्घा सडकमा पनि समस्या
त्यस्तै, केचना–कञ्चनजङ्घा सडकअन्तर्गत खुदुनाबारी, दानाबारी, बेलासी हुँदै इलाम जोड्ने सडकको अवस्था पनि उस्तै छ। कच्ची सडक भएका कारण पानी नपरेको समयमा साना सवारी सञ्चालन भइरहे पनि ठूला सवारी नियमित रूपमा सञ्चालन हुन सकेका छैनन्।
यस सडकखण्डमा पर्ने पुवा खोलाको पुल गत वर्ष आएको बाढीले बगाएको थियो। सो स्थानमा बेलिब्रिज निर्माणका लागि पहल भइरहे पनि हालसम्म पुल निर्माण हुन नसक्दा वैकल्पिक सडकको रूपमा प्रयोग हुने यो मार्गसमेत भरपर्दो बन्न सकेको छैन।
वर्षायाममा सडक र पुलको समस्या दोहोरिँदा पूर्वी पहाडका बासिन्दाले हरेक वर्ष सास्ती खेप्दै आएका छन्। मुख्य सडक अवरुद्ध हुँदा वैकल्पिक सडकमा समेत सवारीको चाप बढ्ने र ती सडक पनि क्षतिग्रस्त हुने गरेको छ।
जिल्लाबाट उत्पादन बाहिर पठाउन पनि समस्या
सडक अवरोधको असर आयातमा मात्र नभई इलामबाट बाहिर पठाइने स्थानीय उत्पादनमा समेत परेको छ। इलाममा उत्पादन हुने चिया, छुर्पी, घिउ, दूध तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको किसान तथा व्यवसायीले बताएका छन्।
समयमै बजारसम्म उत्पादन पुर्याउन नसक्दा उत्पादन बिग्रिने, लागत बढ्ने तथा किसानले उचित मूल्य नपाउने जोखिमसमेत बढेको छ। विशेषगरी दुग्धजन्य तथा छिटो बिग्रिने वस्तु उत्पादन गर्ने किसानलाई सडक अवरोधले बढी असर गरेको छ।
मुख्य राजमार्ग लामो समयसम्म बन्द हुँदा जिल्लामा आवश्यक वस्तुको आपूर्ति पनि प्रभावित हुन थालेको छ। स्थानीय व्यवसायीहरूले सडक तत्काल सञ्चालनमा ल्याउन सके बजारमा देखिन सक्ने थप अभाव र मूल्यवृद्धिको जोखिम कम हुने बताएका छन्।
एक महिनासम्म मुख्य राजमार्ग सञ्चालनमा नआउँदा पूर्वी पहाडको यातायात तथा आपूर्ति व्यवस्था नै प्रभावित भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वर्षायाममा सडक अवरोध भइरहने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सडकको स्तरोन्नति, जोखिमयुक्त स्थानमा स्थायी संरचना निर्माण तथा वैकल्पिक सडकलाई समेत भरपर्दो बनाउनुपर्ने स्थानीयको माग छ।
मेची राजमार्ग कहिले नियमित रूपमा सञ्चालनमा आउँछ भन्ने टुङ्गो नहुँदा अहिले पूर्वी पहाडका बासिन्दा सडक खुल्ने प्रतीक्षामा छन्।








प्रतिक्रिया राख्नुहोस्