तपाईँ सुन्दै हुनुहुन्छः

खराब मौसमका कारण यलुङ– रि हिमालमा देखिएका ५ शव सङ्कलनमा समस्या

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ– रि हिमालमा ५ जनाको शव देखिएको भएपनि खराब मौसमका कारण शव सङ्कलनमा समस्या भएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताएका छन् ।

ती शवहरू गतबर्ष आरोहणको क्रममा हिमपहिरोमा परेका ५ जनाको रहेको फुर्वा तेन्जीले बताए । यलुङ– रि आधार शिविरमा देखिएका शव सङ्कलनको लागि शुक्रवारबाट हेलिकप्टर पठाउने प्रयास गरिएको भएपनि खराब मौसमका कारण त्यो सम्भव नभएको फुर्वा तेन्जी बताउँछन् । शुक्रवार सम्भव नभएपछि हेलिकप्टर गोंगरमा राखिएको थियो उनले भने– शनिवार बिहानै देखि पुनः त्यस क्षेत्रमा पठाउन खोजिएको भएपनि मौसममा सुधार नभएपछि गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ को क्याल्चेमा हेलिकप्टर राखिएको छ । 

मौसम सुधारको प्रतीक्षामा आफु र टोलीका सदस्यहरु हेलिकप्टर सहित क्याल्चेमा रहेकोले आइतबार मौसम सुधार हुनासाथ एक घण्टाभित्रै शव सङ्कलन गरेर फर्कन सक्ने उनले बताए । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले पनि यलुङ– रि हिमालको आधार शिविरमा ५ वटा शव देखिएको जानकारी आएको तर खराब मौसमका कारण ती शवहरू ल्याउन शुक्रवार देखि गरिएको प्रयत्न सफल हुन नसकेको बताए । यलुङ– रि आधार शिविरमा देखिएका ५ वटा शव गतबर्षको कार्तिक १७ गते यलुङ– रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएकाहरू को भएको र ती शवहरू सङ्कलनको लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरिरहेको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताए ।

गत बर्ष यलुङ– रि हिमाल आरोहणका क्रममा सात जना हिमपहिरोमा परेर बेपत्ता भएको थिए । ती मध्य दुईजनाको शव त्यतिबेलै भेटिएको भएपनि ५ जनाको शव भने नभेटिएको ड्रिम डेक्सटिनेसनका तर्फबाट खोजीमा सहभागी टिमले बताएको थियो । लगातारको हिमपातका कारण त्यतिबेला खोजिकार्य स्थगित गरिएको थियो । यलुङ– रि आधार शिविरमा हिउँ पग्लँदै गएपछि हिमपहिरोमा पुरिएका ५ वटा शव देखिएको थियो ।  

गत वर्षको कार्तिक ११ गते विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणको लागि रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । उनीहरू कार्तिक १७ गते हिमपहिरोमा परेका हुन् । 

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार भएको थियो । हिमपहिरोमा परेका दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यतिबेलै शव भेटिएको थियो । ५ जना विदेशी नागरिकहरू फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासपोर्ट नम्बर 9DK92514), इटलीका पाउलो कोको (पासपोर्ट नम्बर YB6411963) र मार्कोस किरचिलर (पासपोर्ट नम्बर YB3843711), जर्मनका ज्याकोब इसरिवर (पासपोर्ट नम्बर CHIHX6HRZ) तथा क्यानेडियन मार्को डि मारसेलो (पासपोर्ट नम्बर P823193NG) हिमपहिरोमा पुरिएर बेपत्ता थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button