तपाईँ सुन्दै हुनुहुन्छः

साउनको अन्तिम सोमबार धनकुटाका शिवालयमा भक्तजनको घुइँचो

धनकुटा। साउन महिनाको अन्तिम सोमबार धनकुटाका विभिन्न शिवालय तथा धार्मिक धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

जिल्लाको मुलघाटस्थित प्रसिद्ध विश्रान्ति धाममा भगवान् शिवको पूजा आराधना गर्न धनकुटासहित छिमेकी जिल्लाबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु पुगेका छन्। विश्रान्ति धाममा साउने सोमबारको व्रत बसेका महिला तथा अन्य श्रद्धालुले विधिपूर्वक भगवान् शिवको पूजा–आराधना गरेका छन्। धार्मिक मान्यताअनुसार साउनको सोमबार भगवान् शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ तथा दान गर्ने प्रचलन छ। साउनका अघिल्ला सोमबार व्रत बस्न नपाएकाले अन्तिम सोमबार व्रत बसेर पूजाआजा गर्दा पनि मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

विश्रान्ति धाममा बोलबम तीर्थालुको समेत उल्लेख्य भीड लागेको छ। भक्तजनले लेउती खोला र तमोर नदीको संगमस्थलबाट जल ल्याई विश्रान्ति महादेवको शिवलिंगमा चढाएर पूजाआराधना गरेका छन्। हरेक वर्ष साउन महिनामा धनकुटासहित आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन विश्रान्ति धाम आउने गरेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो। 

साउन महिनाभर जिल्लाका विभिन्न शिवालयमा विशेष पूजा–आराधना हुँदै आएको छ। विश्रान्ति सहित धनकुटाको मधुगंगा धाम, धर्मगंगा मन्दिर, पाख्रीबासस्थित शिवमन्दिर, लेगुवाको नागेश्वर शिवालयलगायत धनकुटाका सातवटै स्थानीय तहमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको उपस्थिति रहेको छ। 

हिन्दू धर्मावलम्बीले साउनलाई भगवान् शिवको आराधनाका लागि विशेष धार्मिक महिना मान्ने गरेका छन्। यस महिनामा व्रत, पूजापाठ तथा दान गर्दा पुण्य प्राप्त हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउन महिनामा विशेषगरी साउने सोमबार, सोह्र सोमबार तथा सोम प्रदोष व्रतको धार्मिक महत्व रहेको पाइन्छ।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन्। अन्तिम सोमबारका अवसरमा धनकुटाका दर्जनौँ शिवालय तथा धार्मिक धाममा बिहानैदेखि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button