तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा विद्युत् सर्ट भई आगलागी : १९ लाख बढीको क्षति

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा विद्युत् लाइन सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थायी घर भई हाल दुधिअवामा खरेल इँटा उद्योग सञ्चालन गर्दै आएका दिपेन्द्र खरेलको काठ र जस्तापाताले बनेको दुईतले घरमा सोमबार बिहान पौने ८ बजेतिर आगलागी भएको हो।

विद्युत् सर्ट भई आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी दुधिअवाबाट प्रहरी सहायक निरीक्षक नरेश यादव, इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेशकुमार खत्री र सशस्त्र प्रहरी बेस लक्ष्मीनिया विजयपुरबाट सशस्त्र प्रहरी निरीक्षक काजीराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र बाराको कोल्हबी नगरपालिकाबाट आएको दमकलको सहयोगमा बिहान ९:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाट घरभित्र रहेको दुई लाख रुपैयाँ नगद र विभिन्न जिन्सी सामान जलेर नष्ट हुँदा करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमले जानकारी दिए।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button