तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको गमगढी बजारमा खानेपानीको चरम अभाव

मुगु । मुगुको गमगढी बजारमा विगत एक सातादेखि खानेपानीको चरम अभाव भएको छ। खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीय बजारवासी पानीको जोहो गर्न बाध्य भएका छन्।

छायाँनाथ रारा नगरपालिका–७ स्थित रारा विमानस्थलको किउरी भिरमा साउन १८ गते राति करिब ५० मिटर लामो पहिरो गएको थियो। पहिरोले खानेपानीको मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि गमगढी बजारमा खानेपानी आपूर्ति पूर्णरूपमा बन्द भएको हो।

खानेपानी आपूर्ति बन्द हुँदा गमगढी बजारका करिब ४५० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। खानेपानीको चरम अभाव भएपछि स्थानीय बासिन्दा चैन खोलालगायत बजार आसपासका सीमित स्रोतबाट पानीको जोहो गर्न दौडधुप गरिरहेका छन्।

खानेपानीको अभावले बजारवासीको दैनिक जनजीवन प्रभावित भएको छ। विशेषगरी खाना पकाउन, सरसफाइ गर्न तथा अन्य दैनिक कामका लागि आवश्यक पानी जुटाउन समस्या भएको स्थानीयले बताएका छन्।

गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार मौसममा आएको खराबीका कारण पहिरो गएको स्थानमा नयाँ पाइप जडान गर्न कठिनाइ भइरहेको छ। पाइप जडानको काम समयमै सम्पन्न गर्न सकिएमा सोमबारदेखि खानेपानी आपूर्तिको समस्या समाधान हुने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button