नेपालगञ्जमा महिला साहित्यकारको अवस्था र संस्थागत विभेदबारे विमर्श
बाँके।महिला साहित्यकारको अवस्था, उनीहरूप्रति साहित्यिक तथा प्राज्ञिक संस्थाको भूमिका तथा संस्थागत विभेदका विषयमा नेपालगञ्जमा गम्भीर विमर्श गरिएको छ।
नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले आयोजना गरेको ‘साहित्यमा महिला हस्ताक्षर : विश्व र नेपाल’ विषयक कार्यक्रममा साहित्यकार शिवानीसिंह थारु र निभा शाहले महिला स्रष्टाले अझै पनि साहित्यिक तथा प्राज्ञिक क्षेत्रमा समान अवसर प्राप्त गर्न नसकेको धारणा राख्नुभयो।
उहाँहरूले साहित्यिक पुरस्कार वितरण, विश्वविद्यालय तथा विद्यालयका पाठ्यक्रममा महिला लेखिकाका कृतिको समावेश र संस्थागत प्रतिनिधित्वका सवालमा अझै असमानता रहेको औँल्याउनुभयो। महिला स्रष्टाका कृतिलाई अपेक्षित प्राथमिकता नदिइएको उल्लेख गर्दै पाठ्यक्रममा महिला लेखिकाको उपस्थिति बढाउनुपर्ने आवश्यकता पनि उहाँहरूले औँल्याउनुभयो।
कवि निभा शाहले विश्वविद्यालयका पाठ्यक्रममा समावेश गरिएका महिला लेखिकाका कृतिसम्बन्धी तथ्यगत विवरणसमेत स्पष्ट रूपमा उपलब्ध नभएको उल्लेख गर्दै महिला स्रष्टाका सिर्जनालाई अध्ययन र अध्यापनमा पर्याप्त स्थान दिनुपर्ने बताउनुभयो।
साहित्यकार शिवानीसिंह थारुले साहित्यिक पुरस्कार वितरण प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै पुरस्कार छनोट समितिको विवरण सार्वजनिक गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। छनोट प्रक्रियामा पारदर्शिताको अभाव हुँदा निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुने उहाँको भनाइ थियो।
विमर्शका क्रममा साहित्यकार शाहले राज्य संरचना, नीतिगत प्राथमिकता र निर्णय प्रक्रियाले साहित्यिक कृतिको मूल्याङ्कन तथा प्रवर्द्धनमा प्रभाव पार्ने बताउनुभयो। उहाँले महिलाको अर्थपूर्ण र प्रभावकारी सहभागिताबिना निर्णय तहमा वास्तविक पहुँच सुनिश्चित हुन नसक्ने धारणा राख्नुभयो।
दुवै साहित्यकारले महिला लेखिकाको आर्थिक स्वायत्तता, पारिवारिक सहयोग र संस्थागत प्रवर्द्धनले सिर्जनात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नेपाली महिला साहित्यकारका उत्कृष्ट कृतिलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय भाषामा अनुवाद गरी विश्वसामु पुर्याउन आवश्यक रहेको बताउनुभयो।
साहित्यकार किरण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले महिला साहित्यकारसँग सम्बन्धित विविध विषयमा प्रश्नोत्तर तथा अन्तरक्रिया गरेका थिए।








प्रतिक्रिया राख्नुहोस्