मधेश प्रदेश सरकारद्वारा १२ थान भ्यान प्रहरीलाई हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश प्रदेशका ८ जिल्ला सहित चार ईलाका प्रहरी कार्यालयहरूलाई शान्ति सुरक्षा स्थापनामा सहयोग गर्नका लागि १२ वटा प्रहरी भ्यान प्रदान गरेको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले आज विशेष कार्यक्रमका बीचमा मधेश प्रदेशका ८ जिल्लालाई एक एक थान र ४ वटा ईलाका प्रहरी कार्यालयलाई प्रहरी भ्यान प्रदान गरेको हो ।
प्रहरी भ्यान प्राप्त गर्ने ईलाका प्रहरी कार्यालयहरूमा रौतहटको चन्द्रनिगाहपुर र गरुणा तथा सर्लाही जिल्लाका ईलाका प्रहरी कार्यालय गोडैता गडहीया रहेको छ । प्रदान गरिएको महेन्द्रा कम्पनीको बोलेरो पिकप भ्यानले जिल्ला तथा इलाकामा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।
पिकप भ्यानको साँचो हस्तान्तरण गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले आम जनताको जीउ धनको सुरक्षा तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रदेश सरकारले प्रदान गरेको प्रहरी भ्यानबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले प्रहरीको कार्यक्षमता बढाउनका लागि मधेश प्रदेश सरकारले वर्षेनी रुपमा विभिन्न प्रकारको साधन श्रोतहरू उपलब्ध गराउँदै आएको र यो क्रम निरन्तर रुपमा रहने बताउनु भयो ।
गृहमन्त्री महतोले प्रहरीको मनोबल उच्च बनाउन तथा सकारात्मक कामका लागि उत्प्रेरण जगाउनका लागि प्रदेश सरकारले गर्नु पर्ने सम्पूर्ण कार्यहरू गर्नका लागि तयार भएको बताउनु भयो ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले प्रहरीलाई साधन श्रोतको अभाव भएको वेलामा मधेश प्रदेश सरकारले प्रदान गर्दै आएको साधन विभिन्न प्रकारको साधन श्रोतले शान्ति सुरक्षा स्थापनामा ठूलो मद्दत पुगेको बताउनु भयो ।
कार्यक्रममा गृह सञ्चार तथा कानून मन्त्रालयका सचिव डा. विन्देश्वर प्रसाद लेखक सहभागी रहनु भएको सो भ्यान हस्तान्तरण कार्यक्रममा प्रदान गरेको १२ वटा प्रहरी भ्यानको मूल्य भ्याट सहित ४ करोड ६८ लाख ६० हजार रहेको स्टोर शाखाका अधिकृत अविनिस कुमार मिश्रले जानकारी दिनु भएको हो ।
केही दिनपछि मन्त्रालयले प्रहरीलाई गस्ती गर्नका लागि सजिलो होस् भन्नका लागि ७० थान मोटरसाइकल हस्तान्तरण गर्न लागेको मन्त्रालयका योजना शाखाका अधिकृत राधेशंकर प्रसाद पालले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्