तपाईँ सुन्दै हुनुहुन्छः

२८६ मिटर अग्लो बन्जी जम्पसहित गल्याङमा ९ साहसिक पर्यटन परियोजना बन्दै

स्याङ्जा ।स्याङ्जाको गल्याङ नगरपालिकामा साहसिक पर्यटनको नयाँ अध्याय सुरु हुने भएको छ । आधीखोलाको प्राकृतिक भूगोललाई आधार बनाएर गल्याङ–८ चिउरीभिरदेखि वडा नं. ७ पेलाकोटसम्म २८६ मिटर अग्लो बन्जी जम्पसहित ९ वटा साहसिक पर्यटन परियोजना निर्माणको तयारी अघि बढाइएको हो ।

सिद्धार्थ राजमार्गसँगै रहेको चिउरीभिरदेखि आधीखोलाको अर्को किनार पेलाकोटसम्म परियोजनाका संरचना विस्तार गरिनेछन् । एउटै क्षेत्रमा साहसिक खेल, मनोरञ्जन, दृश्यावलोकन र आतिथ्य सेवा उपलब्ध गराउने गरी परियोजनाको अवधारणा तयार गरिएको छ ।

परियोजनाको मुख्य आकर्षणका रूपमा २८६ मिटर अग्लो बन्जी जम्प निर्माण गरिनेछ । यससँगै स्विमिङ, स्काइ साइकलिङ, चेयरलिफ्ट, जिपलाइन, स्काइ डिनर, रक क्लाइम्बिङ, स्काइ ब्रिज र रिसोर्ट निर्माण गर्ने योजना छ ।

गरिमा होल्डिङको सहायक कम्पनी गरिमा एडभेन्चर प्रालिले परियोजना अघि बढाउन लागेको हो । परियोजनाका लागि आवश्यक जग्गा खरिद प्रक्रिया पूरा भइसकेको कम्पनीका अध्यक्ष श्याम बस्यालले जानकारी दिनुभयो ।

बस्यालका अनुसार आगामी असोजदेखि निर्माण कार्य सुरु गर्ने तयारी छ । सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी राजमार्गबाटै सहज पहुँच हुने स्थानमा परियोजना विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

आधीखोलाको गहिरो खोँच, पहाडी भू–बनोट र आसपासको प्राकृतिक दृश्यलाई साहसिक गतिविधिसँग जोडेर नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने कम्पनीको लक्ष्य छ । चिउरीभिरदेखि सुरु हुने संरचनालाई पेलाकोटतर्फका गतिविधिसँग जोडेर पर्यटकलाई एउटै क्षेत्रमा विभिन्न अनुभव प्रदान गर्ने योजना बनाइएको छ ।

२८६ मिटर अग्लो बन्जी जम्प निर्माण भएपछि गल्याङको पर्यटन पहिचान थप फराकिलो हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार बन्जीको डिजाइन विश्वस्तरीय साहसिक पर्यटन संरचनासँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारिएको छ ।

परियोजना निर्माणपछि गल्याङमा पर्यटकको आवागमन बढ्नुका साथै होटल, यातायात, स्थानीय उत्पादन तथा अन्य सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीय युवाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र आसपासको आर्थिक गतिविधि चलायमान बन्ने विश्वास गरिएको छ ।

कम्पनीले निर्माण सम्पन्न भएपछि आवश्यक प्राविधिक तथा सुरक्षा मापदण्ड पूरा गरी बन्जी जम्पलाई Guinness World Records मा दाबी गर्ने लक्ष्यसमेत राखेको जनाएको छ ।

साहसिक पर्यटनका लागि चर्चित गन्तव्यहरू थपिँदै गएको अवस्थामा गल्याङमा निर्माण हुन लागेको यो परियोजनाले स्याङ्जाको पर्यटन नक्सामा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button