तपाईँ सुन्दै हुनुहुन्छः

सिमी नफलेपछि कृषक चिन्तित

मुगु । जिल्लामा यस वर्ष अत्यधिक वर्षाका कारण सिमी नफलेपछि कृषकहरू चिन्तित बनेका छन्। लगातारको वर्षा र मौसमको प्रतिकूलताका कारण सिमीमा फल नदेखिएपछि कृषकहरू चिन्तित बनेका हुन् ।

छायानाथ रारा नगरपालिका–६ निवासी रामपुर भियाँलका अनुसार यस वर्ष सिमी खेती राम्रो हुने अपेक्षा गरिए पनि वर्षा धेरै भएपछि उत्पादनमा अनपेक्षित गिरावट भएको छ । उत्पादनमा गिरावट आउने भएपछि आयआर्जनमा समस्या हुने र घरखर्च धान्न मुस्किल हुने भियाँलले बताउनुभयो । यस वर्षा निरन्तर वर्षा भइरहँदा सिमीको बोट कमजोर भई फल नलागेको हुन सक्ने स्थानीयहरू बताउँछन् ।

त्यस्तै, छायानाथ रारा नगरपालिका वडा नं ५ कार्की पाडाका कृषक लालबहादुर बुढाले पनि सिमीको बोटहरू कोसा नलागी रित्तै रहेको बताउनुभयो  “फूल त लाग्यो तर दाना बस्न सकेन, धेरैजसो बोट खाली जस्तै भए,” उहाँको भनाई थियो ।

छायानाथ रारा नगरपालिका–७ की कृषक बाँचुदेवी शाहीले पनि वर्षा अत्यधिक हुँदा सिमी खेती प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार समयमै घाम नलाग्दा र पानी बढी परेकाले सिमीमा रोग समेत देखिएको छ।

स्थानीय कृषकहरूका अनुसार सिमी यहाँको मुख्य तरकारी बालीमध्ये एक हो। तर यस वर्ष उत्पादन घट्दा घरायसी उपभोगसँगै बजार आपूर्तिमा समेत असर पर्ने देखिएको छ। कृषकहरूले मौसम अनुकूल बीउ तथा प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button