तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका अध्यक्ष दाहाल र अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्ट (Simon Ernst) ले शिष्टाचार भेट गर्नुभएको छ। 

राजदूत साइमनले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा दुई देशको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको थियो।  

सो अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाबीचको लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अष्ट्रेलियाबीच सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय स्तरमा कुनै असमझदारीका विषय नरहेको बताउनु भयो। उहाँले गत वर्ष भएको व्यापार तथा लगानीसम्बन्धी सम्झौताले दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ गति दिने विश्वास पनि व्यक्त गर्नुभयो।

संघीय संसदले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूह स्थापना गरेको जानकारी दिँदै अध्यक्ष दाहालले संसदीय अनुभव आदानप्रदान, नियमित अन्तरक्रिया तथा द्विपक्षीय भ्रमणले दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

अन्तर(व्यवस्थापिका संघ (आईपीयू) का विभिन्न सम्मेलनका क्रममा अष्ट्रेलियाली संसदका सभामुखसँग भएका भेटघाटले संसदीय सम्बन्ध विस्तारमा थप सहयोग पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि संसदीय कूटनीतिमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउनु पर्ने उल्लेख गर्नुभयो।

उहाँले जनस्तरमा विकसित भएको सम्बन्ध नेपाल-अष्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधार रहेको बताउँदै उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बनेको उल्लेख गर्नुभयो। हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरिरहेको तथा ठूलो सङ्ख्यामा नेपालीले त्यहाँ रोजगारी र विभिन्न पेसामा आबद्ध भई दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक बनाएको उहाँले बताउनु भयो।

अष्ट्रेलियाली नागरिकको नेपाल भ्रमण बढाउन राजदूतको कार्यकालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अध्यक्षले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन आग्रह गर्नुभयो। साथै, नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालन सम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।

अध्यक्षले अष्ट्रेलियाले नेपालको आर्थिक विकास, प्राकृतिक प्रकोप तथा कोभिड-१९ महामारीका समयमा गरेको मानवीय सहयोगको सराहना गर्नुभयो। 

सो अवसरमा राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो नेपाल बसाइमा दुई देशबीचको सम्बन्धलाई अझ निकट र बलियो बनाउन कोसिस गरिरहने बताउनु भयो।

दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै जनस्तरमा पनि बलियो सम्बन्ध रहेको राजदूत साइमनले बताउनु भयो। उहाँले अहिले ६० हजारभन्दा बढी नेपाली विद्यार्थी अष्ट्रेलियामा रहेको उल्लेख गर्दै २ लाख बढी नेपाली रहेको बताउनु भयो।

दुई देशबीचका साझेदारीका विभिन्न क्षेत्रमध्ये संसदीय मैत्री समूह महत्त्वपूर्ण भएको चर्चा गर्दै राजदूत साइमनले दुवै देशका संसद्को अनुभव आदानप्रदानका लागि मैत्री समूहले राम्रो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button