बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट, सञ्चार मन्त्रीद्वारा भर्चुअल उद्घाटन
काठमाडौँ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्व सन्ध्यामा सेवा सञ्चालनमा आएको हो । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको त्यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै दुर्गम भूगोलमा रहेका नागरिकलाई पनि सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा सो कार्यमा समन्वय र सहकार्य गरेका बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभयो ।
सेवा सञ्चालनपछि सञ्चार मन्त्री डा तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गर्नुभयो । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उहाँले सेवा सञ्चालनको अवस्था र त्यहाँको कठिनाइबारे जानकारी लिनुभयो । सो भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत काम भइरहेको जानकारी दिनुभयो ।
टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
बडिमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउनका लागि सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरिरहेका थिए । सञ्चारमन्त्री डा तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो ।
यसैबीच सञ्चारमन्त्री डा तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग पनि त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडान स्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गर्नुभएको थियो ।

बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ । टावर भने करिब चार हजार दुई सय ३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ । बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ । त्यसअन्तर्गत देशका दुर्गम, ग्रामीण तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार विस्तार गर्ने, फोर–जी सेवाको पहुँच बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा नयाँ प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ ।
यसै योजनाअनुसार नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिञ्जा क्षेत्रमा पनि नेपाल टेलिकमको फोर–जी सेवा यही भदौ ५ गतेदेखि सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठी ज्युला बजार क्षेत्रमा फोर–जी सेवा विस्तार भएसँगै सिञ्जा क्षेत्रको सञ्चार पहुँच थप सहज भएको छ ।
त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ । यसअघि नै केही उच्च हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित लहान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यसैगरी ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटरको उचाइमा पनि फोर–जी सेवा सञ्चालनमा आएको छ । उच्च हिमाली तथा दुर्गम क्षेत्रमा सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक, तीर्थयात्री तथा सुरक्षा र उद्धारमा खटिने निकायलाई समेत सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका देशका अन्य दुर्गम क्षेत्र पहिचान गरी क्रमशः सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । नेपाल टेलिकमका अनुसार हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्