तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गल व्यवस्थापन नहुँदा बढ्यो बाघको जोखिम, गल्याङमा १० बाख्रा मारिए

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ५ रुपाखानी नेवारडाँडामा बाघको आक्रमणबाट स्थानीय कृषक श्यामबहादुर रानाको गोठमा रहेका १० वटै बाख्रा मरेका छन् । साउन १८ गते राति भएको आक्रमणमा बाघले ९ वटा बाख्रा खोरमै मारेर छाडेको भने एउटा बाख्रा बोकेर लगेको हो ।

उक्त घटना पछि इलाका प्रहरी कार्यालय बलाम (जैपते) बाट प्रहरी टोली तथा वडा नं ५ को पशु सेवा कार्यालयको प्राविधिक टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । प्रारम्भिक विवरण अनुसार घटनाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

गल्याङ नगरपालिका ५ का वडा अध्यक्ष घनश्याम भट्टराईका अनुसार नेवारडाँडा क्षेत्रमा १८ घरधुरी रहेका छन् । पछिल्ला समय बाघ बस्तीमै आउन थालेको र स्थानीयलाई समेत छेक्ने घटनाले त्रास बढाएको उहाँले बताउनुभयो । यस क्षेत्रका किसान बाँदरको आतङ्कबाट खेतीपाती जोगाउन पनि वर्षौंदेखि सङ्घर्ष गर्दै आएका छन्, त्यस्तै स्याल पनि आउने हुँदा दिनदिनै कुखुरा पनि लग्ने गरेको स्थानीयले बताएका छन् ।

वडा अध्यक्ष भट्टराईले बस्ती वरिपरि जङ्गल रहे पनि निजी जग्गामा रहेका रुख समेत कानुनी जटिलताका कारण काट्न वा व्यवस्थापन गर्न नपाइने अवस्था रहेको बताउनुभयो । यही कारण जङ्गली जनावर मानव बस्ती नजिक सम्म आउन सहज भएको उहाँको भनाइ रहेको छ ।

“मानिसको ज्यान र सम्पत्तिको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । बस्ती आसपासका निजी जग्गामा रहेका रुख आवश्यकता अनुसार व्यवस्थापन गर्न पाउने कानुनी व्यवस्था गरियो भने यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्छ,” भन्दै उहाँले सरोकारवाला निकायसँग आवश्यक कानुनी प्रबन्ध गर्न माग गर्नुभएको छ ।

स्थानीयवासीले पनि प्रभावित किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै बाघ लगायतका जङ्गली जनावरबाट हुने जोखिम नियन्त्रणका लागि दीर्घकालीन योजना लागू गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button