लम्की स्किन रोग फैलँदा किसान चिन्तित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा गाईमा लाग्ने गाँठे छाला रोग (लम्की स्किन रोग) फैलिन थालेपछि गाईपालक किसान चिन्तित बनेका छन् । नगरपालिकाका अधिकांश वडामा पालिएका गाई तथा बाछाबाछीमा रोगको संक्रमण देखिन थालेको छ । विशेषगरी बाछाबाछीमा संक्रमण तीव्र रुपमा फैलिरहेको पशु प्राविधिकहरूले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक रोशन लामाका अनुसार पछिल्ला केही सातायता नगरका विभिन्न वडाबाट गाईमा गाँठे छाला रोग (लम्की स्किन) देखिएको सूचना निरन्तर प्राप्त भइरहेको छ । उहाँले विशेषगरी बाछाबाछीमा संक्रमण बढी देखिएको बताउँदै समयमै नियन्त्रण गर्न नसके रोगको फैलावट अझ व्यापक हुन सक्ने चेतावनी दिनुभयो ।
चन्द्रपुर–४ का किसान अशोक पहाडीले आफ्नो गाईको बाछीमा एक सातादेखि लम्पी स्किन रोगको लक्षण देखिएको बताउनुभयो । उहाँले सुरुमा सामान्य ज्वरो देखिए पनि त्यसपछि शरीरभरि गाँठागुँठी र फोका देखिन थालेको जानकारी दिनुभयो । उपचारका लागि नगरपालिकामा जानकारी गराउँदा पनि आवश्यक औषधि र खोप उपलब्ध नभएकाले बजारबाट महँगो मूल्यमा औषधि खरिद गर्नुपरेको उहाँको भनाइ छ । समयमै प्रभावकारी उपचार र खोपको व्यवस्था नभए किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।
चन्द्रपुर–८ का किसान हरि तिमल्सिनाले रोग लागेका गाईको शरीरभरि गाँठागुँठी र फोका आउने, ती फुटेर घाउ बन्ने, त्यसपछि उच्च ज्वरो आउने, दाना खान छाड्ने र दूध उत्पादनसमेत घट्ने गरेको बताउनुभयो । उहाँका अनुसार रोगका कारण गाईहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छन् ।
तिमल्सिनाले रोगको जानकारी नगरपालिकाको पशु सेवा शाखामा गराउँदा आवश्यक खोप र औषधि उपलब्ध नभएको भन्दै आफूहरूलाई फर्काइने गरेको गुनासो गर्नुभयो । “नगरपालिकाबाट न खोप पाइयो, न औषधि । अन्ततः बजारबाट महँगो मूल्य तिरेर किन्न बाध्य भएका छौँ,” उहाँले भन्नुभयो ।
पशु प्राविधिकहरुका अनुसार गाँठे छाला रोग विषाणुबाट लाग्ने सरुवा रोग हो । यो रोग लामखुट्टे, झिँगा, किर्ना तथा रगत चुस्ने अन्य किराहरूको माध्यमबाट एक गाईबाट अर्को गाईमा सर्ने गर्छ । रोग लागेपछि गाईमा उच्च ज्वरो आउने, शरीरभरि गाँठागुँठी र घाउ देखिने, दूध उत्पादन घट्ने, तौल कम हुँदै जाने तथा प्रजनन क्षमतामा समेत असर पर्ने हुन्छ । कतिपय अवस्थामा पशुको मृत्यु समेत हुन सक्ने भएकाले यसलाई पशुपालन क्षेत्रमा ठूलो आर्थिक क्षति पु¥याउने रोगका रुपमा लिइन्छ ।
सन्तपुरका किसान विकास दाहालले तत्काल रोग नियन्त्रण अभियान सञ्चालन गरी निःशुल्क खोप, औषधि तथा प्राविधिक सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । अधिकांश किसानको आयआर्जनको मुख्य आधार पशुपालन भएकाले रोग नियन्त्रणमा ढिलाइ भए किसानको जीविकोपार्जन नै सङ्कटमा पर्ने उहाँको भनाइ छ ।
स्थानीय किसानहरुले प्रभावित क्षेत्रमा तत्काल प्राविधिक टोली परिचालन गर्न, निःशुल्क खोप तथा औषधिको व्यवस्था गर्न र रोगबारे जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरेका छन् ।
यता चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले पशुमा देखिएको गाँठे छाला रोगको पहिचान गरी कार्यपालिका बैठकबाट आवश्यक निर्णय गरी तत्काल खोप उपलब्ध गराएर रोग नियन्त्रणका लागि प्रभावकारी पहल गरिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्