तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक रूपान्तरणमा राष्ट्र बैङ्कको सक्रिय भूमिका आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्कलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह निर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

“आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने छैन । यहाँ उठेका प्रत्येक विषयलाई कार्ययोजनामा रूपान्तरण गरिनेछ । आवश्यक परे संयुक्त कार्यदल बनाउनेछौँ, नीतिगत समन्वयलाई संस्थागत गर्नेछौँ र निर्णय प्रक्रियालाई अझ छरितो बनाउनेछौँ,” उहाँले भन्नुभयो, “हामीसँग अहिले दुर्लभ अवसर छ । सुधारको राजनीतिक इच्छाशक्ति छ । आर्थिक स्थायित्वको आधार बनेको छ । निजी क्षेत्र अवसरका लागि तयार छ । अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ । यदि सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्किङ क्षेत्र र निजी क्षेत्र एउटै दिशामा अघि बढे भने नेपालको आर्थिक रूपान्तरण केवल कल्पना रहने छैन, त्यो कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।”

अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो । उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष चासो व्यक्त गर्नुभयो । 

अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको नियामक प्रणालीले नवप्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैँसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सरकार र नेपाल राष्ट्र बैङ्क आत्मविश्वासी भए बैङ्किङ प्रणाली र निजी क्षेत्र पनि आत्मविश्वासी बन्ने तथा त्यसले आर्थिक वृद्धि हासिल गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button