तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक प्रविधिबाट विद्यार्थीलाई अन्तरिक्षको अनुभव

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित चन्द्रपुर एकेडेमीमा आयोजित अत्याधुनिक तारामण्डल (प्लानेटोरियम) प्रदर्शनीमा विद्यार्थीले चन्द्रमाको सतह, सौर्यमण्डल र अन्तरिक्षको आभासी अवलोकन गर्दै नयाँ सिकाइ अनुभव प्राप्त गरेका छन् । 

विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा विशेष प्रविधियुक्त चस्माको प्रयोगमार्फत विद्यार्थीले ३६० डिग्री दृश्यमा चन्द्रमाको सतह, त्यहाँ रहेका खाल्डाखुल्डी, अन्तरिक्षबाट देखिने पृथ्वी तथा सौर्य मण्डलका विभिन्न संरचनाको अवलोकन गरेका थिए । 

चार आयामिक (४डी), आभासी यथार्थ (भर्चुअल रियालिटी–भीआर) र संवर्धित यथार्थ (अग्मेन्टेड रियालिटी–एआर) प्रविधिमा आधारित प्रदर्शनीले पुस्तकमा अध्ययन गरेका विषयलाई प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ । 

काठमाडौँस्थित जियो साइन्स एन्ड प्लानेटोरियम प्रालिको प्राविधिक सहयोगमा विद्यालय परिसरमा १९ फिट अग्लो प्लानेटोरियम डोम स्थापना गरी प्रदर्शनी सञ्चालन गरिएको हो । कार्यक्रममा मानव इतिहासमा पहिलो पटक चन्द्रमामा पुगेको ऐतिहासिक घटना समेत प्रविधिमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको थियो । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बसन्त आचार्यले आधुनिक प्रविधिसँग विद्यार्थीलाई जोड्दै गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । 

उहाँले अन्य धेरै विद्यालयले यस्ता कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीबाट अतिरिक्त शुल्क लिने गरे पनि चन्द्रपुर एकेडेमीले सम्पूर्ण खर्च आफ्नै स्रोतबाट व्यवस्थापन गरी अभिभावकबाट कुनै अतिरिक्त शुल्क नलिएको जानकारी दिनुभयो । 

अध्यक्ष आचार्यले प्रदर्शनीले विद्यार्थीमा विज्ञान, खगोल शास्त्र र अन्तरिक्ष अध्ययनप्रति रुचि बढाएको बताउनुभयो । पुस्तकमा अध्ययन गरेका विषय प्रत्यक्ष अनुभव गर्न पाउँदा सिकाइ अझ प्रभावकारी र दीर्घकालीन हुने तथा विद्यार्थीमा वैज्ञानिक सोचको विकासमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ । 

प्रदर्शनी अवलोकन गरेका विद्यार्थीले चन्द्रमाको सतह, ग्रह–नक्षत्र र ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा नियाल्न पाउँदा नयाँ अनुभव प्राप्त भएको प्रतिक्रिया दिएका छन् । 

प्रविधिमैत्री शिक्षा र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त प्रदर्शनीले रौतहटको शैक्षिक क्षेत्रमा नवीन अभ्यासको सुरुआत गरेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button