कटानले बढायो जोखिम, सहयोगको प्रतीक्षामा नरोदय माध्यमिक विद्यालय

स्याङ्जा। अविरल वर्षासँगै गएको बाढी–पहिरोका कारण स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडिखोलास्थित श्री नरोदय माध्यमिक विद्यालयमा पठनपाठन सञ्चालन चुनौतीपूर्ण बनेको छ। विद्यालय परिसर, खेलमैदान, शौचालय र खानेपानी प्रणालीमा क्षति पुगेपछि विद्यालयले जोखिमकै बीच वैकल्पिक व्यवस्था गरी कक्षा सञ्चालनको तयारी थालेको छ।
हाल वर्षे बिदाका कारण विद्यालय बन्द रहे पनि आगामी साउन २५ गतेदेखि कक्षा १२ सम्मको पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले जानकारी दिनुभयो। विद्यालयमा हाल १२१ जना विद्यार्थी अध्ययनरत छन्।
गत असार २८ र २९ गते आएको बाढी–पहिरोले विद्यालयको शौचालय पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने खानेपानीको व्यवस्था अवरुद्ध भएको छ। खोलाको कटानका कारण खेलमैदानको एक भागमा करिब पाँच मिटर अग्लो भिर बनेपछि विद्यार्थीको सुरक्षामा थप जोखिम बढेको छ। तत्कालका लागि बाँसको अस्थायी छेकबार लगाएर जोखिम न्यूनीकरणको प्रयास भइरहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो।
विद्यालय तथा प्रभावित क्षेत्रको अवस्था बुझ्न गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, सुरक्षा निकायका प्रमुख, प्राविधिक टोली तथा भू–संरक्षण कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा विद्यालय संरक्षण, क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा भविष्यका जोखिम न्यूनीकरणका उपायबारे छलफल भएको थियो।
नगरप्रमुख गुरु प्रसाद भट्टराईले डुडे बजार क्षेत्रको भौतिक व्यवस्थापनका लागि आर्थिक वर्ष २०८३/८४ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिने जानकारी दिँदै प्रभावित क्षेत्रको संरक्षण र पुनःस्थापनाका काम सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइने बताउनुभयो।
वडा अध्यक्ष दीप गुरुङले विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पहिरोको प्रकृति र जोखिमबारे वैज्ञानिक अध्ययन गरी दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रधानाध्यापक पौडेलले वर्षे बिदापछि वैकल्पिक व्यवस्थासहित पठनपाठन सुरु गरिने जानकारी दिँदै सुरक्षित शौचालय, खानेपानीको व्यवस्था तथा कटान नियन्त्रणका लागि तत्काल आवश्यक सहयोग उपलब्ध गराइदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्