तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो । 

घटनामा सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको मृत्यु भएको छ । 

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त रहेको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गर्ने र सचिव पदमा प्रा. डा रोजी श्रेष्ठलाई नियुक्त निर्णय  गरेको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद्समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रुपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्री परिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button