तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षभित्र एक लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी : मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै एकलाख रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालय लागिपरेको पनि बताउनुभयो ।

उहाँले फ्रि भिसा, फ्रि टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी सुरु गरिसकेको जानकारी दिनुभयो ।

मन्त्री यादवले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा कार्यरत एक सय ५५ जना नागरिकलाई उद्धार गर्ने तयारी भएको समितिमा जानकारी गराउनुभयो ।

बैठकमा समिति सदस्यहरुले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च व्यहोर्नु परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

समितिका सदस्यहरुले श्रमिकले तोकिएको सम्झौता बमोजिम पारिश्रमिक नपाएको भन्दै श्रमिक विदेश पठाउने त्यस्ता म्यानपावर कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने सुझाव दिनुभयो । 

सदस्यहरुले घरेलु कामदारमा विदेश पठाउँदा जीटुजीमार्फत सम्बन्धित मुलुकमा पठाउनुपर्ने र वैदेशिक रोजगारमा ठगिएका नागरिकको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button