तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा मतदान प्रक्रिया सुरु हुन ढिलाइ 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा आज बिहान ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा मतदान प्रक्रिया शुरु हुन ढिलाइ भएको छ । 

रास्वपाको आज ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उम्मेदवारको  नाम र तस्बिर राखेर मतदान गराइने छ ।

निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।  विभिन्न क्लस्टरबाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिए पनि मतदान सम्पन्न भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ । केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ ।

रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुङ्गो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी रास्वपाले गरेको छ । 

रास्वपाको विधानमा १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने ५१ जना केन्द्रीय सदस्यलाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते आइतबारदेखि चितवनमा जारी छ । ९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण महाधिवेशन लम्बिएको हो ।

रास्वपाको जारी पहिलो महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरू छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button