तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आकस्मिक शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रुपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो ।

उहाँले सांसदहरुले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता स्वच्छन्दता होइन स्वतन्त्रता सँगै जवाफखदेहिता पनि उक्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गरी आफ्नो पेशागत गरिमा र सीमा भित्र रहेर पत्रकारिता गर्न अनुरोध समेत गर्नुभयो ।

 उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी  प्रभावकारी र सशक्त बनाई  नेपालको मिडिया क्षेत्रलाई स्वच्छ जवाफदेही गौरव गर्न सकिने क्षेत्रको रुपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले नेपालको दुर्गम र बढी व्यवसायीक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रम सहित  व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । 

उहाँले चलचित्र क्षेत्र र आमसञ्चारका क्षेत्रमा काम गर्ने योजना अन्तर्गत मौलिक पहिचान दिलाउने गरी निर्माण गरिने चलचित्रलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सरकारको रहेको बताउनुभयो । 

संसद भवनमा समाचार सङ्कलनका लागि आउने पत्रकारहरूका लागि मुख्य भवन बाहिर टेन्ट राखेर बस्ने कुर्सी र खाने पानीलगायतको व्यवस्था गरिएको बताउँदै संसद भवन बनिसकेपछि समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button