सिक्टा नहरले सुरु गरायो चैते धान खेती
बाँके । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गत पूर्वी नहरबाट नियमित रूपमा पानी उपलब्ध हुन थालेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रका किसानहरूमा उत्साह थपिएको छ । यस वर्ष राप्तीसोनारी वडा नं.३ देखि ७ सम्मका किसानहरूले परीक्षणकै रूपमा भए पनि चैते धान खेती सुरु गरेका छन्, जसले कृषि प्रणालीमै नयाँ सम्भावना देखाएको छ ।

राप्तीसोनारी–५, जबरपुरका किसान दिनेश चौधरी भन्नुहुन्छ, “पहिला खेती गर्न आकाशकै भर पर्नुपर्थ्यो। करिब तीन वर्षदेखि सिक्टाको नहरबाट पानी आउन थालेपछि अहिले खेतबारीमा जताततै पानी पुगेको छ। खेती गर्न धेरै सहज भएको छ।”
त्यस्तै, सोही ठाउँका अर्का किसान सिता थारुले पनि यस वर्ष परीक्षणका रूपमा चैते धान रोपेका छन्। उहाँ भन्नुहुन्छ, “पहिला दुई बाली पनि मुस्किलले हुन्थ्यो । अहिले त नियमित सिँचाइ भएपछि हाम्रो जीवनस्तर नै फेरिएको छ। पहिले वर्षभरि खान पनि पुग्दैनथ्यो, अहिले त उत्पादन बेच्न समेत थालेका छौँ ।”
उहाँका अनुसार, पहिले सिँचाइ अभावले धेरै जग्गा बाँझै जस्तो लाग्थ्यो भने अहिले भने उल्टै जग्गा कम भएको महसुस हुन थालेको छ, किनकि वर्षभरि नै खेती गर्न सकिने अवस्था बनेको छ।
पूर्वी नहर आसपासका किसानहरू अहिले धानपछि गहुँ, गहुँपछि बसन्ते मकै, चैते धान र बेमौसमी तरकारी खेतीतर्फ अग्रसर भएका छन्। यसले खेती प्रणालीलाई बहुवर्षीय र व्यावसायिक बनाउँदै लगेको छ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा कृषि अर्थ विज्ञ डा.बिनोद घिमिरेले भन्नुभयो, “बाँकेमा पछिल्ला केही वर्षयता चैते धान खेती फाट्टफुट्ट रूपमा हुँदै आएको थियो। यस वर्ष मात्र करिब १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ, जसमा सिक्टा नहरको पानीले महत्वपूर्ण भूमिका खेलेको छ ।”







प्रतिक्रिया राख्नुहोस्